काठमाडौँ - बेलायतकी महारानी एलिजाबेथ द्वितीया २०४२ साल फागुन ६ गते दोस्रो पटक नेपाल भ्रमणमा आएको बखत सम्मान स्वरूप काठमाडौँ सहरको सुनको साँचो चढाइएको थियो। तत्कालीन राजा वीरेन्द्र शाहको निमन्त्रणामा महारानी एलिजाबेथ नेपालको दोस्रो पटक राजकीय भ्रमणमा आएकी थिइन्। त्यसअघि उनी राजा महेन्द्रको निमन्त्रणामा २०१७ सालमा पहिलो पटक नेपाल भ्रमणमा आएकी थिइन्।
गोरखापत्रमा २०४२ साल फागुन ७ गते प्रकाशित समाचारअनुसार बेलायतकी महारानी एलिजाबेथलाई काठमाडौँ नगरपञ्चायतका प्रधानपञ्च कमल चित्रकारले सुनको साँचो हस्तान्तरण गरेका थिए। काष्ठमण्डपमा आयोजित समारोहमा साँचो हस्तान्तरण हुँदा तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्य उपस्थित थिए। महारानी एलिजाबेथ द्वितीयका श्रीमान् राजकुमार फिलिप पनि सो अवसरमा सहभागी थिए।
साँचो चढाइएसँगै महारानीले तत्कालीन नगरपञ्चायतको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेकी थिइन्। नौ इन्च लामो फूलको बुट्टा कुँदिएको सुन्दर भोटेसाँचो कलाकारद्वय मोतीकाजी शाक्य र स्वस्तिरत्न शाक्यले बनाएका थिए। गोरखापत्रले छापेको त्यो समाचारमा उल्लेख छ, “साँचो हस्तान्तरण समारोह नेपाली संस्कृतिसँग गाँसिएको छ। साँचो दिने प्रक्रियाले ठूलो विश्वासको स्थिति इङ्गित गर्छ।”
गोरखापत्र दैनिकबाट