मेलम्ची र इन्द्रावतीमा पाइन थाले माछा

सिन्धुपाल्चोक - बाढी आउनु अघिसम्म सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु, इन्द्रावती, तिपेनीलगायत खोलाका माछाले राम्रो बजार पाएको थियो। गत वर्ष बाढी आएपछि भने माछा पाउन छाड्यो। माछा मारेर जीविकोपार्जन गर्ने स्थानीय निकै मारमा परेका थिए। अहिले भने ती खोलामा माछा पाइन थालेको छ।

मेलम्ची, हेलम्बु, तिपेनीलगायत क्षेत्रमा लोकल माछा र ढिँडो खान तथा माछाका विभिन्न परिकार खान आन्तरिक तथा बाह्य पर्यटक  आउने गरेका थिए। यहाँका माझीहरूले मारेका माछा सहजै बिक्थे। पर्यटकले खानेमात्रै होइन, किनेर पनि लैजाने गर्थे। तर गत वर्षको बाढीका कारण पाइन छाडेपछि उनीहरु मारमा परेका थिए। अहिले फेरि माछा पाइन थालेको छ। “माछा फेरि पाइन थालेको छ, खाने ग्राहक भने पहिला जस्तो आउने गरेका छैनन्”, होटल व्यवसायी चन्द्रमाया नेवार्नीले भनिन्। 

काठमाडौँको जोरपाटीका रामचन्द्र श्रेष्ठ माछा पाउन थालेको थाहा पाएपछि मेलम्ची आउनुभएको बताए। मेलम्चीका माछा निकै स्वादिलो भएको उनी बताउछन्। यहाँ असला, कत्ले, काभ्रेजस्ता माछा पाइन्छन्। अहिले मेलम्ची, इन्द्रावती, तिपेनीलगायत खोलामा लगभग दैनिक २० किलोसम्म माछा फेला पर्ने गरेको स्थानीय माझीहरू बताउँछन्। माछा मारेरै जीविका चलाइरहेको माझी समुदायको पेशा बाढीका कारण सङ्कटमा परेको थियो। 

बाढीपछि अहिले माछा पाउन थालेको शम्भु माझीले बताए। उनले दैनिक दुई किलोसम्म माछा मारेर बिक्री गर्दै आउनुभएको छ। प्रतिकिलो रु एक हजार एक सयसम्ममा बेच्ने गरेको उनले बताए। माछा पुनः पाइन थालेपछि यहाँका व्यापारी, माझी, पर्यटकलगायत खुसी भएका छन्। बाढीका कारण माछा व्यवसायीको उठिबास भएपछि पछिल्लो समय मेलम्चीमा बाहिरबाट आयात गर्नुपर्ने स्थिति थियो।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×