गरीबीका कारण पाठेघरको रोग पाल्दै हुम्लाकी होइजाली

काठमाडौँ - हुम्लाको दक्षिण भेगमा एक महिलाले आर्थिक समस्याले रोग पालिरहेकी छन्।

ताँजाकोट गाउँपालिका–२ मैला गाउँका बस्ने ६६ वर्षीय होइजाली धामीले अर्थाभावमा रोग पालिरहेकी हुन्। पाठेघरसम्बन्धी समस्या भएको १० महिना बढी भइसक्दा उपचार गर्ने पैसा नहुँदा घरमै रोग पालिरहेकी छन्। होइजालीले १० महिनादेखि यो रोग पाल्दै आएकी हुन्। गत जेठमा रु ५० हजारमा भैँसी बिक्री गरेर नेपालगञ्जको कोहलपुर मेडिकल कलेजमा उपचार गर्न पुगिन्। अस्पतालले पाठेघरमा सङ्क्रमण भएको भन्दै खाने औषधि दिएर घर पठाएको थियो। चौध दिन अस्पताल बसेर धामीले उपचार गराएकी थिइन्। चाँडै निको हुने स्वास्थ्यकर्मीले आश्वासन दिएर खाने औषधिका साथ घर पठाएको होइजालीका श्रीमान् दलसुर धामीले बताए।

होइजालीले औषधि खाएर सक्काइसकेकी छन्, तर फेरि पनि समस्या भने अझै उस्तै छ। महिला स्वास्थ्यचौकीले सिफारिस गरेको भए पनि पैसा नहुँदा पीडा सहँदै बसिरहेको महिला स्वास्थ्यचौकीका इन्चार्ज धनराज ढकालले बताए। अर्थावस्था निकै कमजोर रहेको उनको परिवारलाई उपचारका लागि नेपालगञ्जसम्म जाने भाडासमेत नभएको गुनासो गरेको इन्चार्ज ढकालले बताए। तल्लो पेट दुख्ने, रगत, पिप बग्ने, शरीर दुख्नेजस्ता समस्या भइरहेको होइजालीले जानकारी दिएका छन्।

रोगीका श्रीमान दलसुर धामीले श्रीमतीको उपचारका लागि घरमा भएको भैँसी यसअघि नै बिक्री गरेर उपचार खर्च निकालेका थिए। तर, अहिले बिक्री गर्नलाई सम्पत्तिसमेत नहुँदा श्रीमतीको उपचार गर्न नसकेको दुःखेसो पोख्छन् उनी। सुरुसुरुमा होइजालीले आफ्नो समस्या लुकाउँदै आइकी थिइन्, अहिले धेरै अफ्ठ्यारो भएपछि मात्र उनले आफूलाई समस्या भएको बाहिर ल्याएको बताउँछिन्।

होइजालीजस्तै हुम्लाको ग्रामीण बस्तीका महिलामा पाठेघर खस्ने समस्या बढी देखिने गरेको स्वास्थ्यकर्मीले बताएका छन्। जिल्लाका ग्रामीण समुदायमा बसोबास गर्ने महिला यो समस्याबाट बढी पीडित भएको स्वास्थ्यकर्मीले बताउँदै आएका छन्। धेरै महिला यौन रोग लुकाएर पालिरहेका छन्। अफ्ठ्यारो अवस्थामा मात्रै स्वास्थ्य संस्था पुग्ने गरेका छन्। यो समस्या सानो उमेरमा विवाह गर्नु, सुत्केरी भएलगत्तै काम गर्नुपर्ने, गर्भवती समयमा उकाली–अ‍ेराली गर्नुपर्ने, भारी बोक्नुपर्ने, बच्चा धेरै जन्माउनुपर्ने अशिक्षाका कारण लाज मान्ने प्रवृत्तिले पनि जिल्लाका ग्रामीण क्षेत्रका महिलामा पाठेघरको समस्या बढी हुने स्वास्थ्यकर्मी ढकालले बताए।

दुर्गमका महिलाहरू अझै पनि वर्षौंदेखि रोग लुकाएर बस्ने गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×