काठमाडौँ - कीर्तिमानी नेपाली आरोही निर्मल पूर्जामाथि नेटफ्लिक्सले निर्माण गरेको चर्चित डकुमेन्ट्री ‘फोर्टिन पिक्स : नथिङ इज इम्पोसिबल’ टेलिभिजनतर्फको ओस्कार अवार्ड मानिने एमीमा मनोनयन भएको छ। आउटस्ट्यान्डिङ म्युजिक कम्पोजिसन फर अ डकुमेन्ट्री सिरिज अर स्पेसल विधामा फिल्म छानिएको हो। यो विधामा कम्पोजर नैनिता देसाई मनोनित भएकी हुन्।
नेटफ्लिक्समा रिलिज भएलगत्तै समीक्षकबाट समेत ध्वनि रचनातर्फ देसाईले चर्चा बटुलेकी थिइन्। त्यतिबेला उनले सगरमाथाको शून्यतामा ध्वनि सिर्जना गर्नुपर्ने चुनौती रहेको बताउँदै शून्यतालाई पनि ध्वनिको परिभाषामा बाँधेकी थिइन्।
पूर्जाले सात महिनाभित्रै कसरी ८ हजार मिटरभन्दा अग्ला संसारका १४ हिमाल आरोहण गरे भन्ने चित्रण यो डकुमेन्ट्री फिल्मले गर्छ। स्ट्रिमिङ भएलगत्तै नेटफ्लिक्समा करोडौंले यसलाई हेरेका थिए भने उक्त प्लेटफर्ममा अहिलेसम्म हेरिएका टपटेन डकुमेन्ट्रीमा पनि यो फिल्म अटाएको थियो।