काठमाडौँ - विश्वकीर्तिमानी सगरमाथा आरोही तथा सामाजिक अभियन्ता कल्पना महर्जनले बालविवाह रोकथाम अभियानलाई ललितपुरबाट सुरु गरेकी छन्।
उनले २०७६ जेठ ९ गतेका दिन सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट उद्घोष गरेको बालविवाह रोकथाम अभियानलाई ललितपुरबाट सुरु गरेकी हुन्। गोदावरी नगरपालिकासँगको सहकार्यमा शान्ति शिक्षा अभियान नेपालको आयोजनामा गोदावरी नगरपालिका–८ डुकुछापको सामुदायिक विद्यालयका विद्यार्थीका साथै दनुवार बस्तीमा सचेतना अभियानको थालनी गरेको छ।
नेपालको अन्य अल्पसङ्ख्यक जातिमध्ये दनुवार पनि हो। राष्ट्रिय जनगणना–२०६८ अनुसार मुलुकभरि दनुवार जातिको सङ्ख्या ८४ हजार ११५ रहेको छ। काठमाडौँ, भक्तपुर, ललितपुर, रसुवा, गोरखा, नुवाकोट, कास्की, झापा, मोरङ, सुनसरी, रौतहट मकवानपुर, सर्लाहीलगायत जिल्लामा दनुवार जातिको बसोबास हुँदै आएको छ। दनुवार जाति भरसक आफ्नै गाउँमा विवाह गर्छन्। यो समाजमा बालविवाह एवम् बहुविवाहको प्रचलन छदँैछ। गरिबी र जनचेतनाको अभावजस्ता बाध्यात्मक कारणबाहेक सामाजिक सञ्जाल लगायतको बढ्दो प्रयोगसँगै स्वेच्छाले परिवारको स्वीकृतिविना पनि भागेर बालविवाह हुने गरेको वास्तविकता पनि यो समाजमा विद्यमान छ।
उनी विश्वको सर्वोच्च शिखर सगरमाथाको दुवै मोहोडा नेपालको दक्षिणीतर्फबाट ( २०७५ जेठ ९ गते ) र उत्तरी मोहोडा (तिब्बततर्फबाट २०७६ जेठ ९ गते)का दिन सफल आरोहण गरी सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो महिला पत्रकारको विश्वकीर्तिमानी राख्न सफल बनेकी हुन्।