परम्परा बचाउन कोभिडका बीच माधवनारायण मेलाको औपचारिकता निभाइने

काठमाडौँ । माघ महिनाभर बिहानी चिसोको पर्वाह नगरी भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा बालकदेखि वृद्धसम्मले चिसो पानीमा डुबुल्की मार्दै माधवनारायण मेलाको व्रत शुभारम्भ गरेका छन्।

नेपाल संवतको आठौँ शताब्दीदेखि सुरु भएको एक महिने माधवनारायण व्रत एवं मेला आजदेखि भक्तपुरमा सुरु भएको हो। हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म एक महिना लाग्ने मेला आज हनुमान घाटस्थित त्रिवेणी धाममा स्नान गरी, सूर्यलाई अर्घ दिएर माधवनारायणको पूजा गरेपछि व्रत सुरु गरिएको माधवनारायण व्रत व्यवस्थापन समितिका सदस्य एवं पूजारी गोपाल शर्माले जानकारी दिए।

साँखुको शाली नदीमा भन्दा पहिल्यैदेखि यो मेला र  व्रत यहाँ सुरु भएको शिलालेख र अन्य ग्रन्थमा उल्लेख गरिएको  पाइएको उनको भनाइ छ। माधवनारायणको व्रत बस्ने व्यक्तिले एक महिनासम्म व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, अरुलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको उनले बताए।

यसवर्ष भने कोरोना भाइरस सङ्क्रमणका कारण हनुमानघाटस्थित त्रिवेणीमा गरिने  व्रत ओझेलमा परेको  छ। कोरोना भाइरस सङ्क्रमण हुन नदिन यसवर्ष हनुमानघाटमा सर्वसाधारणलाई यहीँ बस्ने गरी माधवनारायणको व्रत बस्न नदिने निर्णय भएपछि मेला औपचारिकतामा मात्रै सीमित गरिएको माधवनारायण धलौं (व्रत) सेवा समिति हनुमानघाटका अध्यक्ष उद्धव खाइतुले जानकारी दिए।

यसवर्ष हनुमानघाटमा कसैलाई  पनि माधवनारायणको एक महिने व्रत बस्न नदिने तर व्रतको परम्परा नटुटाउनका लागि  केही सीमित व्यक्ति मात्रै राखिने भएको छ। भीडभाड गरेर व्रत बस्न नदिइए पनि त्रिवेणीमा दैनिक नित्य पूजा तथा माधवनारायणको कथा वाचन र हनुमानघाट त्रिवेणी कुण्डमा दैनिक स्नान गर्ने कार्य भने नियमित गरिने भएको छ।

नेपाल सम्वत् ७२२ मा रणजीत मल्ल आफैले व्रतका लागि स्थानको व्यवस्थापन गरेको शिलालेखमा उल्लेख भएकोे बताउँदै उनले यहाँस्थित त्रिवेणीघाटमा डुबेर एकचित्त भएर जे बर माग्यो त्यो पूरा हुने जनविश्वास रहेकाले विगतका वर्षमा यहाँ व्रत बस्ने र स्नान गर्न आउनेको भीड हुने गरेको उनको बताएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×