काठमाडौँ - पछिल्लो समय नेपालमा फुटबलका गतिविधि हुन नसक्दा खेलाडी बिदेशिने क्रमशः बढ्दै गएको छ। यो वर्ष धेरै खेलाडी आफ्नो सुरक्षित भविष्यको खोजीमा अस्ट्रेलिया पलायन भइरहेका छन्।
यो सिलसिला तत्कालै रोकिने संकेत पनि छैन। यस्तैमा नेपाली राष्ट्रिय फुटबल टोलीका १ तथा शीर्ष डिभिजन खेल्ने ३ गरी कुल ४ खेलाडी अस्ट्रेलिया प्रस्थान गरेका छन्।
राजन गुरुङ, रवि थिङ, अमिर श्रेष्ठ र रुमेश बर्तौला बिहीबार अस्ट्रेलिया प्रस्थान गरेका हुन्। विभागीय टोली एपिएफबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलेका राजनले गत वर्ष भारतविरुद्धको मैत्रीपूर्ण खेलसँगै नेपाली राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। त्यस्तै,क्लबले आहा रारा गोल्ड कपको उपाधि जित्दा उनी टोलीका प्रमुख खेलाडी थिए।
रविले पनि एपिएफबाटै गत वर्षको शीर्ष लिग खेलेका थिए। यु-२३ टोलीका पूर्व खेलाडी अमिरले जावलाखेल यूथ क्लबाट शीर्ष डिभिजन तथा यु-१८ तथा यु-२३ राष्ट्रिय टोलीका पूर्व खेलाडी रुमेशले च्यासल यूथ क्लबबाट ‘ए’ डिभिजन लिग खेलेका थिए।
यसअघि राष्ट्रिय टोलीका आशिष लामा, सुमन लामा, सन्तोष तामाङ, दर्शन गुरुङ र हेमन गुरुङ पनि अस्ट्रेलिया गइसकेका छन्। त्यस्तै, न्युरोड टिम एनआरटीबाट व्यावसायिक फुटबल खेलिरहेका गोलरक्षक अजित प्रजापति पनि यही वर्ष अस्ट्रेलिया पलायन भएका थिए।