काठमाडौँ - अल्लु अर्जुन र रश्मिका मन्दाना स्टारर तेलुगू ‘पुष्पा : द राइज’ सफल बनेपछि निर्माण समूह फिल्मको दोस्रो श्रृंखला ‘पुष्पा : द रुल’को छायांकनमा जुटेको छ। फिल्मको छायांकन सोमबारदेखि सुरु भएको छ।
छायांकनअघि मुहूर्त पूजाको आयोजना गरिएको थियो, जहाँ कास्ट एन्ड क्रिउ सहभागी रहेका थिए। फिल्म छायांकन सुचारु गर्ने तेलुगू फिल्म निर्माता संघको घोषणाको भोलिपल्टै ‘पुष्पा २’ को सुटिङ सुरु भएको हो।
कलाकारले दैनिक पारिश्रमिक नपाउने सहितका केही सर्तमा फिल्म सुटिङ सुरु भएको तेलुगू सञ्चारमाध्यमले जनाएका छन्। ‘पुष्पा’का निर्माताले इन्स्टाग्राममार्फत भारतकै प्रतीक्षित फिल्मको सुटिङ सुरु भएको जनाएका छन्।
सुकुमार निर्देशित फिल्म पुष्पा : द राइजमा अल्लु अर्जुनले रक्तचन्दन ओसारपोसार गर्ने एक लरी चालकको भूमिका निर्वाह गरेका छन्। एक वर्षअघि रिलिज भएको फिल्मले कोरोना महामारीपछि व्यावसायिक सफलता हासिल गर्ने पहिलो फिल्म बनेको थियो।
फिल्मले विश्व बक्स अफिसमा ३०० करोड भारु कमाएको जनाइएको छ। फिल्म हिन्दी, तेलुगू, तमिल, कन्नड र मलयालम भाषामा रिलिज भएको थियो। यो फिल्म भारतभर रिलिज हुने अल्लु अर्जुनको पहिलो फिल्म पनि थियो।
पुष्पा : द रुल चाहिं सन् २०२२ को डिसेम्बरमा रिलिज हुने हिन्दूस्तान टाइम्सले जनाएको छ। यसैबीच, रजनीकान्तको फिल्म ‘जेलर’को छायांकन पनि सोमबारदेखि सुरु भएको पिंकभिल्लाले जनाएको छ।