खोटाङ - ऐसेलुखर्क गाउँपालिकामा कार्यरत दुईजना गाउँ प्रहरीलाई सेवाबाट हटाइएको छ। विसं २०७६ फागुन १४ गतेदेखि कार्यरत दुई गाउँ प्रहरीले कार्यसम्पादनमा चित्त बुझ्दो काम नगरेकाले उनीहरुलाई सेवाबाट हटाइएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले जानकारी दिए।
तीन गाउँ प्रहरी भर्ना गरिएको उक्त गाउँपालिकामा हाल एक जनामात्रै कार्यरत छन्। दुई हटाइएसँगै रिक्त बनेको दरबन्दीमा नयाँ गाउँ प्रहरी भर्नाका लागि विज्ञापन खुलाउने तयारी गरिए पनि चुनावको मुखमा नकरात्मक आक्षेप आउने भएकाले भर्ना रोकिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले चार गाउँ प्रहरीको दरबन्दी सिर्जना गरेको छ। गाउँ प्रहरीले हाल कार्यालयमा हुने भीडभाड नियन्त्रण गर्ने, ऐसेलुखर्क बजारका सडक पेटीमा सामान राखेर बिक्री गर्न तथा निर्माण सामग्री राखेर आवागमनमा अवरोध पु¥याउनमा रोक लगाउनेलगायतका काम गर्दै आएको छ।
यस्तै बजारमा हुने अनियमितता नियन्त्रण गर्दै बजारलाई अनुशासित राख्नका लागि गाउँ प्रहरीले माइकिङ गर्ने, सिट्ठी बजाउँदै हिँड्नेलगायतका भूमिका निर्वाह गरिरहेको गाउँपालिकाले जनाएको छ। गाउँ प्रहरीलाई कार्यालय सहयोगी स्वसरह सेवा–सुविधा पाउने गरी भर्ना गरिएको उनले जानकारी दिए।
दश स्थानीय तह रहेको जिल्लामा ऐसेलखर्क गाउँपालिकाले जिल्लामै पहिलोपटक तीन जना गाउँ प्रहरी भर्ना गरेको थियो। स्थानीय सरकार सञ्चालन ऐनमा व्यवस्था भएअनुसारको नीतिलाई कार्यान्वयन गर्दै ऐसेलुखर्क गाउँपालिकाले नागरिकको शान्ति, सुरक्षा र अमनचयन कायम गर्न गाउँ प्रहरी भर्ना गरेको हो। गाउँपालिकाले नियुक्त गरेको गाउँ प्रहरीले नेपाल प्रहरीसँगको सहकार्यमा उक्त गाउँपालिकाको कार्यालयका साथै सातवटै वडाको सुरक्षामा सहयोग गर्दै आएको छ।