काठमाडौं । शनिवार दिवंगत हुनुभएका गायक कुमार सुब्बाको पार्थिव शरीर दार्जिलिङ लगिएको छ । लामो समयदेखि श्वासप्रश्वासको समस्यासँग जुध्दै आएका उनको उपचारका क्रममा शनिवार सिलगुडीस्थित अस्पतालमा निधन भएको थियो ।
उनको पार्थिव शरीरलाई आइतवार दार्जिलिङ पुर्याइएको हो ।
आइतवार दिउँसो उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि दार्जिलिङ बजारमा राखिएको थियो । उनको पार्थिव शरीरमा दार्जिलिङमा रहेका संगीतकर्मी र उनका प्रशंसकहरुले फूलमाला र खादा चढाइ श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यसपछि पार्थिव शरीरलाई दार्जिलिङस्थित उहाँको निजी निवास पुर्याइएको छ भने अन्त्येष्टि साेमवार मात्र गरिने बताइएको छ ।
उनको जन्म ११ मार्च १९४४ मा कृष्णमोती सुब्बा र वीरहाङ सुब्बाको सुपुत्रका रुपमा दार्जीलिङ बजारको थाना लाइनमा भएको थियो । दुई दिदी र दुई बहिनीका उहाँ एक्लो माइती थिए । सुब्बाले सन् १९८५ देखि संगीत तथा नाट्य विभाग दार्जीलिङमा पुरूष गायकको पदमा लामो समय जागीरे जीवन बिताएका थिए ।
सन् १९६८ देखि वरिष्ठ गायकका रूपमा उनले आकाशवाणी खर्साङमा समेत काम गरे । ‘देउरालीका ठिटी’ ‘हे फूल चुँडेर लाने हो’ सारंगीको तारले र शुभकामना भरि लगायत सयौं गीतका गायक सुब्बाले गायिकाहरु दिलमाया, अरूणा लामा, डेजी बराइली, हीरा रसाइली, सङ्गीता सुब्बा, दावा ग्याल्मो आदिसँग पनि सहगायन गरेका छन् । उनले गोपाल योञ्जन,कर्म योञ्जन र दुर्गा खरेल लगायतका संगीतकारहरुको संगीतमा गाएका गीत श्रोता दर्शकले निकै मनपराएका छन् ।