काठमाडौं - गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष राजेन्द्रकुमार शर्मा नेतृत्वको टोली भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा सहयोग पुराउन त्यसतर्फ प्रस्थान गरेको छ । राहत सामग्रीसहितको टोली आइतबार भूकम्प प्रभावित जिल्ला जाजरकोट प्रस्थान गरेको हो ।
यस अघि अध्यक्ष शर्माले आउँदो दुइ वर्षभित्र रु १० करोडको विपद् सहायता कोष बनाउने घोषणा गरेका थिए । एनआरएनए टोली भूकम्प पीडितहरुका लागि त्रिपाल, कम्बल, औषधि लगायतका आवश्यक सामग्री सहित जाजरकोट प्रस्थान गरेको संघका महासचिव बुद्धिसागर सुवेदीले जानकारी दिए । यसअघि शनिबार जूममार्फत एनआरएनका पदाधिकारी तथा विभिन्न अभियन्ताहरुले विपद् सहायता कोषका लागि सहयोग रकम घोषणा गरेका थिए । जसमा अध्यक्ष शर्माले रु २१ लाख, महासचिव सुवेदीले रु १९ लाख, कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगानाले रु १७ लाख, निवर्तमान अध्यक्ष कुल आचार्यले ५ लाख ५५ हजार ५ सय ५५ सहयोग गर्ने घोषणा गरेका थिए । अहिलेसम्म झन्डै रु एक करोड संकलन भैसकेको कोषाध्यक्ष ढुंगानाले जानकारी दिए ।
भूकम्प प्रभावित क्षेत्रको राहत वितरण तथा उद्धार कार्यमा सरकारलाई सघाउने उद्देश्यले भूकम्प प्रभावित क्षेत्रमा विज्ञसहितको टोली लिएर आफुहरु प्रस्थान गरेको अध्यक्ष शर्माले जानकारी दिए । सरकारले एकद्वार प्रणालीमार्फ राहत वितरण लगाएतका कामहरु गर्ने बताएकाले सरकारी निकायसंग समन्वय गरेर नै आफूहरुले काम गर्ने पनि अध्यक्ष शर्माले बताए ।
गत शुक्रबार राती जाजरकोट केन्द्र बिन्दु बनाएर गएको ६.४ म्याग्नीच्युडको भूकम्पमा परी १५० जना भन्दा बढीको ज्यान गएको छ भने झन्डै ४०० जना घाइते भएका छन् ।