प्रतिनिधिसभा निर्वाचन आउन अब ६० दिन मात्र बाँकी

आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा अब ६० दिन मात्र बाँकी रहेको छ । निर्वाचनको तयारीस्वरूप जनक शिक्षा सामग्री केन्द्रले पुस २२ गते (मंगलबार) देखि मतपत्र छपाइ सुरु गर्ने भएको छ ।

जनक शिक्षा सामग्री केन्द्रले निर्वाचन आयोगसँगको समन्वयमा समानुपातिकतर्फका मतपत्र छपाइ सुरु गर्न आवश्यक सबै तयारी पूरा गरिसकेको जनाएको छ । निर्वाचनका लागि आवश्यक चार करोड मतपत्रसहित नमूना मतपत्र, मतदाता परिचयपत्र, सूचनामूलक पोस्टरलगायत सामग्री छपाइका लागि २९ दिनको कार्यतालिका बनाइएको केन्द्रका प्रवक्ता राम कुँवरले जानकारी दिए ।

मतपत्र छपाइका लागि केन्द्रले चारवटा अत्याधुनिक मेसिन मर्मत गरी तयारी अवस्थामा राखेको छ भने करिब २५० जना जनशक्ति पनि परिचालनका लागि तयार पारिएको छ ।

यता, निर्वाचन आयोगले समानुपातिकतर्फको बन्द सूची मिलाउन राजनीतिक दलहरूलाई पुस २७ गतेसम्मको समय दिएको छ । साथै आयोगले सरकारी तथा अर्धसरकारी निकायलाई कुनै पनि दल वा उम्मेदवारको पक्ष वा विपक्षमा गतिविधि गर्न नपाइने गरी आचारसंहिता लागू गरेको छ ।

आचारसंहिताअनुसार कुनै पनि परियोजनाको स्रोत, साधन वा सम्पत्ति निर्वाचनमा दल वा उम्मेदवारको समर्थन वा विरोध हुने गरी प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ । साथै सरकारी वा अर्धसरकारी निकाय, सार्वजनिक संस्था, विश्वविद्यालय, विद्यालय वा कलेजको परिसर प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचार–प्रसार गर्न पनि प्रतिबन्ध लगाइएको छ ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×