हुम्ला- एक हप्तादेखि बन्द रहेको जिल्ला प्रशासन कार्यालय हुम्लाको सेवा सोमबारदेखि सञ्चालनमा आएको छ। निमित्त प्रमुख जिल्ला अधिकारी दशरथ राईलाई कोरोना सङ्क्रमण भएपछि कार्यालयको सम्पूर्ण सेवा बन्द गरिएको थियो। निमित्त प्रजिअ राईले एक हप्तादेखि बन्द रहेका सेवा सोमबारबाट सञ्चालन भएको जानकारी दिए। स्वास्थ्य मापदण्डअनुसार तोकिएको समयमा आइसोलेशन बस्ने अवधि सकिएको र कोरोनामुक्त भएपछि कार्यालय सञ्चालन गरिएको उनले बताए।
कार्यालयले सम्पूर्ण सेवा सञ्चालन गरेपछि सेवाग्राहीलाई सहज भएको छ। कार्यालयले राष्ट्रिय परिचयपत्र बनाउने, नयाँ नागरिकता प्रदान गर्न, प्रतिलिपि दिन, अन्य सिफारिस दिन सुरु गरेको छ। सेवा लिँदा सेवाग्राहीले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने, खोपकार्ड र सामाजिक दूरी कायम गरिएको हुनुपर्ने उनले बताए। सेवा बन्द हुँदा जिल्लाका सेवाग्राहीले सास्ती खेप्नुपरेको थियो।