काठमाडौँ - भारतीय क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ खेल्ने पक्का भएको छ। चेन्नई सुपर किंग्सका कप्तान धोनीले यस सिजनको अन्तिम खेलमा राजस्थान रोयल्सविरुद्ध खेलकोक्रममा टसको समयमा आफूले अर्को सिजन खेल्ने पुष्टि गरेका छन्।
साविक विजेता तथा चार पटकको च्याम्पियन चेन्नई यस सिजनमा प्लेअफबाट बाहिरि सकेको छ। धोनीले यस सिजनको सुरुवाती समय भने कप्तानी रविन्द्र जडेजालाई हस्तान्तरण गरेका थिए। बढ्दो उमेरको कारण धोनीले यस सिजनपछि आइपिएल नखेल्ने अनुमान गरिएको थियो।
जडेजाको कप्तानीमा चेन्नई ८ खेलमध्य ६ खेलमा पराजित भएपछि धोनी कप्तानमा फर्किएका थिए। धोनीले २००८ देखिनै चेन्नईको कप्तानी गर्दै आएका छन्। धोनी उमेरले ४० वर्षका भएपनि मैदानमा भने आफ्नो फिनिसर छविलाई निरन्तरता दिँदै आएका छन्।
धोनीको कप्तानीमा चेन्नई २०२० मा पहिलो पटक लिगबाट बाहिरिएको छ। अन्य सबै सिजनमा चेन्नई प्लेअफमा पुगेको थियो। चेन्नई इतिहासमा दोस्रो पटक २०२० र २०२२ मा प्ले अफमा पुग्न नसकि बाहिरिएको हो।