काठमाडौँ - सरकारले विद्युत् नियमन आयोगका निलम्बित अध्यक्ष दिल्लीबहादुर सिंहलाई एक सातभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ।
मन्त्रिपरिषद्ले पुनरावेदन अदालतका पूर्वमुख्य न्यायाधीश प्रकाशचन्द्र गजुरेलको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो। आयोगका अध्यक्ष सिंह, सदस्यद्वय रामेश्वर कलवार र भागीरथी ज्ञवालीको कार्यक्षमतामा प्रश्न उठेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले छानबिन समिति गठन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेका छन्।
छानबिन समिति गठन भएपछि उनीहरू स्वतः निलम्बनमा परेका हुन्। छानबिन समिति गठन हुनु अगावै आयोगका अर्का सदस्य डा. रामप्रसाद धितालले भने राजीनामा दिएका थिए। आयोगको ऐनमा अध्यक्ष वा कुनै सदस्यको कार्य क्षमताको अभाव वा खराब आचरण भएको पाइएको खण्डमा सरकारले छानबिन समिति गठन गर्न सक्ने प्रावधान छ।
सरकारले सोही प्रावधानका आधारमा छानबिन समिति गठन गरेको हो।