काठमाडौँ - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले गरेका कामका बारेमा जनतालाई जानकारी गराएर आगामी निर्वाचनमा मत माग्नुपर्ने बताएका छन्।
कांग्रेस व्यास नगरपालिका–२ ले आज दमौलीमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले कांग्रेसले सरकारको नेतृत्व गर्दा गरेका कामका बारेमा जनतालाई जानकारी गराउनुपर्ने बताएका हुन्। उनले भने, “विपक्षी दलहरूले जनतालाई भ्रममा पार्ने कोसिस गरिरहेको छन्। त्यस्ता भ्रमलाई कांग्रेसले चिर्नसक्नुपर्छ।” कांग्रेसका बारेमा जनतालाई बुझाउन हरेक नेता तथा कार्यकर्ताले अध्ययन, चिन्तन र मनन गर्नुपर्ने वरिष्ठ नेता पौडेलको भनाइ छ। एक फरक प्रसङ्गमा उनले व्यास नगरपालिकालाई प्रकृतिमैत्री बनाउने चुनौती थपिएको बताउँदै नगरपालिकाभित्र बनेका संरचनाले नगर क्षेत्र साँघुरिँदै गएकामा आफू त्यसतर्फ चिन्तित रहेको जनाएका छन्।
त्यस्तै कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले पार्टी सरकारमा हुँदा भएका राम्रा कामका बारेमा प्रचार गर्नुपर्नेमा जोड दिएका छन् भने कांग्रेस जिल्ला सभापति जितप्रकाश आलेले कांग्रेसले आचरण सुधार गर्नुपर्नेमा जोड दिँदै योग्य, क्रियाशील र क्षमतावानलाई स्थानीय चुनावमा टिकट दिइने बताएका छन्।