काठमाडौँ - संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले जलवायु परिवर्तनलाई बेवास्ता नगर्न विश्व समुदायलाई आग्रह गरेका छन्। मनसुनी बाढीबाट प्रभावित लाखौँ मानिसहरूका लागि सहयोग जुटाउन पाकिस्तानको भ्रमण गर्नुभएका गुटेर्रेसले जलवायु परिवर्तनप्रति विश्वव्यापी ध्यान नपुगेको भन्दै त्यसलाई गैर–जिम्मेवारीपनको संज्ञा दिएका छन्।
महासचिव गुटेर्रेसले जलवायु परिवर्तनलाई बेवास्ता गर्नु सामूहिक आत्महत्या बराबर भएको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। गुटर्रेसले आज शनिवार पाकिस्तानको दक्षिणको बाढी प्रभावित क्षेत्रको भ्रमण गर्ने कार्यक्रम रहेको छ।
पछिल्लो पटक लगातारको वर्षाका कारण पाकिस्तानमा आएको बाढी पहिरोले झन्डै १५ सय जनाको ज्यान गएको छ। यस्तै बाढीले कैयौँ हेक्टरमा लगाइएको बालीनाली नोक्सान हुनुका साथै घर, व्यवसाय, सडक र पुलहरू भत्किएका छन्।
पाकिस्तानले पुनर्निर्माण र मर्मतका लागि कम्तीमा १० अर्ब अमेरिकी डलर खर्च हुने बताएको छ। पाकिस्तानले तत्काल तीन करोड ३० लाख प्रभावितका लागि खाद्यान्न आवश्यक भएको जनाएको छ। पाकिस्तानमा हरेक वर्ष मनसुनी वर्षाका कारण ठूलो जनधनको नोक्सानी हुने गरेको छ।