काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) मा विवाद समाधान गरी निर्वाचन तथा महाधिवेशन गराउन संरक्षक परिषदका अध्यक्ष डा शेष घलेको नेतृत्वमा ७ सदस्यीय उच्चस्तरीय समिति गठन भएको छ ।
शनिबार बसेको संघको ८१ औं आइसीसी पूर्ण बैठकले उच्चस्तरीय समिति गठन गरेको हो । प्रतिनिधि चयनको विषयलाई लिएर विवाद बढेपछि महाधिवेशन सम्पन्न हुन नसकिरहेका बेला समितिलाई जिम्मेवारी दिइएको हो ।
समितिको सदस्यमा संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, संरक्षक जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, रामप्रताप थापा र वर्तमान अध्यक्ष कुमार पन्त रहनुभएको छ । बैठकले संघको दशौं महाधिवेशन तथा आइसीसी निर्वाचनको कार्यतालिका पनि तय गरेको छ । आगामी २८ फेब्रुअरीमा नयाँ आइसीसीको चुनाव गर्ने गरी यही जनवरी २६ सम्ममा महाधिवेशन प्रतिनिधिको नामावली संरक्षक परिषदमार्फत निर्वाचन समितिलाई उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ । बैठकमा महाधिवेशन प्रतिनिधिको चयन विधानसम्मत र विगतको अभ्यासअनुसार चयन गर्ने र त्यसको निर्क्योल घले नेतृत्वको समितिले गर्ने सहमति भएको छ ।
तोकिएको मितिमा सबै काम पूरा हुन नसकेमा उच्चस्तरीय समितिले तय गरेको मितिमा हुने र त्यसमा कसैको दुईमत नहुने अध्यक्ष पन्तले बताए ।
आइसीसीको यो निर्णयसँगै कुमार पन्त नेतृत्वको वर्तमान आइसीसी पुनः कामचलाउ भएको छ । यसअघि परराष्ट्र मन्त्रालयले पनि संरक्षक परिषद्लाई नै निर्वाचन र महाधिवेशन गराउने जिम्मेवारी दिएको थियो । त्यसविरुद्ध पन्त अदालत गएपनि उहाँले चुनाव गराउन नसकेपछि पुनः आइसीसीबाटै संरक्षक परिषद्लाई नै चुनाव र महाधिवेशन गराउने जिम्मेवारी दिइएको हो ।
संघको पछिल्लो निर्णयले सहमतिका लागि आधार तय गरेको अध्यक्षका प्रत्यासी तथा सल्लाहकार कुल आचार्यले बताए।