काठमाडौँ - दोस्रो हाफमा खाएको दुई गोलमा नेपाल बुधबार राति एएफसी एसियन कप छनोट प्रतियोगिताको तेस्रो चरणमा जोर्डनसँग २-० ले पराजित भएको छ।
गोलकिपर दीप कार्की र रक्षक विकास तामाङले डेब्यू गरेको खेलमा नेपालले पहिलो हाफमा बलियो टोली जोर्डनलाई गोलरहित बराबरीमा रोकेको हो। मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको विवादका कारण नियमित गोलकिपर तथा कप्तान किरण चेमजोङसहित अर्का गोलकिपर विशाल श्रेष्ठ र विकेश कुथुले टिममा नपरेपछि दीपले मौका पाएका थिए।
कुवेतस्थित जबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा नेपाल अधिकांश समय दबाबमै खेलेको थियो। डेब्यू गरेका दीपले पेनाल्टी बचाएका थिए। दीपले ४३औं मिनेटमा जोर्डनका मौसा मोहमद सुलेमानले हानेको पेनाल्टी प्रहार बचाएका थिए। नेपालका रक्षक गौतम श्रेष्ठले मिडफिल्डर मोहमद फैजललाई पेनाल्टी क्षेत्रमा लडाएपछि जोर्डनले पेनाल्टीको अवसर पाएको थियो। तर, जोर्डनले उक्त अवसरमा नेपालका गोलकिपर दीप तगारो बनेका थिए।
तर, दोस्रो हाफमा भने नेपालले जोर्डनलाई रोक्न सकेन। ६९औं मिनेटमा जोर्डनले अलियाद ओल्वानले गरेको गोलबाट जोर्डनले अग्रता लियो। ८२औं मिनेटमा जोर्डनले अर्को पेनाल्टी अवसर पायो। नेपालका सुमन अर्यालले मोहमद सुलेमानलाई पेनाल्टी क्षेत्रमा लडाएपछि जोर्डनले दोस्रो पटक पेनाल्टीको अवसर पाएको थियो। तर, दोस्रो पटक भने दीपले बचाउन सकेनन्। हम्जा अलीअलदाराद्रेहले पेनाल्टीमा गोल गरेपछि जोर्डनले तीन अंक हासिल गरेको हो।
जितसँगै महत्वपूर्ण तीन अंक जोडेको जोर्डन समूह ‘ए’को शीर्ष स्थानमा रहेको छ। समान तीन अंक नै जोडेको इन्डोनेसिया दोस्रो स्थानमा रहेको छ। कुवेत तेस्रो र नेपाल चौथो स्थानमा रहेको छ।
गएराति नै सम्पन्न अर्को खेलमा इन्डोनेसियाले कुवेतलाई २–१ ले हराएको थियो।
तेस्रो चरणको छनोट प्रतियोगिताबाट हरेक समूहका शीर्ष टोलीले चीनमा हुने एसियन कप २०२३ स्थान बनाउनेछन्। त्यस्तै दोस्रो स्थानमा हुने उत्कृष्ट ५ ले पनि प्रतियोगितामा स्थान बनाउनेछन्।