काठमाडौँ - सरकारदेखि अन्तर्राष्ट्रिय सङ्घ/संस्थाहरूले युवालक्षित कार्यक्रम सञ्चालन गर्दा हालसम्म युवाको उमेरमा एकरूपता आउन सकेको छैन। नेपाल सरकार, संयुक्त राष्ट्रसङ्घ, युवाका क्षेत्रमा क्रियाशील राजनीतिक तथा अन्य गैरसरकारी संस्थाहरू युवाको उमेर कति हो भन्ने कुरामा एकरूपता छैन।
युवा नीतिमा १६ देखि ४० वर्षसम्म उमेर भएका नागरिकलाई युवा मानेको भए पनि विभिन्न सरकारी कार्यालयमै युवालक्षित कार्यक्रममा युवाको उमेर फरक–फरक पाइएको छ। सरकारी कार्यालयका युवालक्षित कार्यक्रममा नै नीतिमा तोकिएको उमेर समूहभन्दा माथिकालाई समेट्ने गरिएको छ।
युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कर्जा वितरण छनोट मापदण्डमा समेत ६० वर्षसम्म उमेर कायम गरिएको छ। कोषको उक्त मापदण्डमा १८ देखि ६० वर्षसम्मको उमेरका सबै शिक्षित, अर्धशिक्षित वा अशिक्षित, कुनै पनि पेसा, व्यवसाय र आयआर्जन कार्यमा संलग्न नभएका बेरोजगार व्यक्तिले यसबाट लाभ प्राप्त गर्छन् भन्ने व्यवस्था गरिएको छ। गोरखापत्र दैनिकबाट