महाकाली नदीमा अर्को पक्की पुल बन्ने

महाकाली नदीमा नेपाल–भारत आवतजावत गर्ने दोस्रो पक्की पुल निर्माण हुने भएको छ ।

हाल कञ्चनपुरदेखि दार्चुलासम्म महाकाली पुलमा २ देशको आवागमनलाई सहज बनाउन गड्डाचौकीमा १ मात्र पक्की पुल रहेको छ ।

सरकारले दार्चुला जिल्लास्थित धाप क्षेत्रमा नेपाल र भारत जोड्ने पक्की पुल निर्माणका लागि भारतसँग समझदारीपत्रमा हस्ताक्षर गर्न स्वीकृति प्रदान गरेपछि महाकाली नदीमा अर्काे पुल निर्माण हुने भएको हो ।

महाकाली नदीमा भारतसँग जोड्ने यो दोस्रो पक्की पुल हुनेछ ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले भारतसँग सहमतिपत्रमा हस्ताक्षर गर्नका लागि स्वीकृति दिने निर्णय गरेको पत्रकार सम्मेलनमा जानकारी दिए ।

२ देशबीच आवतजावत गर्नका लागि महाकाली पुलमा हाल टनकपुर गड्डाचौकीबाहेक अरू भागमा पक्की पुल छैन । कहीँ झोलुङ्गे पुल छन् भने कहीँ तुइनबाट आवतजावत हुँदै आएको छ, जसका कारण यहाँका स्थानीय बासिन्दा महाकाली नदीमा दुर्घटनामा परी अकालमा ज्यान गुमाउन बाध्य हुँदै आएका छन् ।

हाल निर्माण हुन थालेको पुलले नेपालको दार्चुला र भारतको पिथौरागढ जिल्लाको धारचुला क्षेत्रलाई जोड्ने छ । सो पुल निर्माणका लागि यही सोमवार मात्र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले समझदारीपत्र पारित गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाएको थियो ।
मन्त्रालयका अनुसार दार्चुला जिल्लाको सदरमुकाम जोड्ने राजमार्गसँग रहेको धाप नजिकको असिकाँडा क्षेत्रमा निर्माण हुने पुलको डिजाइन तथा लागतसमेत तयार भइसकेको छ । २ वर्षअघि पुल निर्माण हुने क्षेत्रको माटोको परीक्षण समेत भइसकेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा २०७३ सालमा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमणमा जाँदा भारतसँग महाकाली नदीमा चारवटा पुल निर्माण गर्ने सहमति भएको थियो तर सो सहमति हालसम्म कार्यान्वयन हुन सकेको थिएन ।

प्रधानमन्त्री देउवाको यो पटक पनि भारत भ्रमण हुने बेला उनको उपस्थितिमा पुल निर्माणका लागि २ देशका अधिकारीबीच सम्झौता हुने कार्यक्रम रहेको थियो ।

कञ्चनपुरको गड्डाचौकीदेखि दार्चुलाको टिंकरसम्म २ देशबीच आवतजावत गर्ने पक्की पुल छैन । सुदूरपश्चिमका भारतसँग सीमा जोडिएका कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला जिल्लामा महाकाली नदीले झण्डै ४०० किलोमिटर दूूरी पार गर्ने गरेको छ ।

यो दूूरीमा गड्डाचौकीमा मात्र पक्की पुल निर्माण छ र हाल आंशिक समयका लागि प्रयोगमा आइरहेको छ । महाकाली नदीमा दार्चुला जिल्लाको सदरमुकाम र बैतडी जिल्लाको सदरमुकामसँग प्रत्यक्ष जोड्ने पुरानो झोलुङ्गे पुल छन्, जहाँ भन्सार कार्यालय सञ्चालनमा छन् ।

यसअघि दार्चुलाका जनप्रतिनिधित्व गर्नुहुने कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूसँग नेपालस्थित भारतीय राजदूतावासका मिसन उपप्रमुख नामग्या सी खाम्पाले भेट गरेका थिए । सो अवसरमा महाकाली नदीमा पुल निर्माणको विषयको सहमतिलाई अन्तिम रूप दिने विषयमा छलफल भएको थियो । गोरखापत्रमा खबर छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×