काठमाडौँ - नुवाकोटको किस्पाङ गाउँपालिकामा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फत करोडभन्दा माथिको तीनवटा सिँचाइ योजना कार्यान्वयनमा ल्याइएको छ।
किस्पाङको पाँचवटै वडाका किसानलाई सिँचाइ सुविधा उपलब्ध गराउन भिन्नभिन्न तीन योजना कार्यान्वयनमा ल्याइएको डिभिजन प्रमुख हरिप्रसाद गुरागाईंले जानकारी दिए। उनका अनुसार नुवाकोटको ठूलो योजनामध्येमा पर्ने सप्ताङ्क खोला सिँचाइ योजना कार्यान्वयनमा ल्याउन प्रारम्भिक वातावरणीय परीक्षण (आइई) निर्माणको काम अन्तिम चरणमा पुर्याइएको छ। “जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको प्राविधिकमार्फत गरिएको सर्वेक्षण र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा रु. २२ करोड हाराहारीमा बजेट लाग्ने देखिएसँगै यो आर्थिक वर्षमा रु. एक करोड २० लाख रकम विनियोजन गरेका छौँ।” डिभिजन प्रमुख गुरागाईंले भने, “योजना कार्यान्वयनमा दिगोपन सुनिश्चित गराउन गाउँपालिकासँगको समन्वयमा आइई भइरहेको छ।”
उक्त योजना सञ्चालनमा आएसँगै किस्पाङ–१, २, ३ र ५ को ३५० हेक्टर जग्गाधनी किसान प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन्। योजना सम्पन्न भएपश्चात् अहिले सिँचाइ अभावले बाँझो रहेका जग्गामा बाह्रै महिना पर्याप्त सिँचाइ सुविधा पुर्याउन सकिने विश्वास लिइएको छ। योजना सञ्चालनका लागि किसान उपभोक्ताले कूल लगानीको तीन प्रतिशत श्रमदान सुनिश्चित गर्नुपर्नेछ भने मर्मतसम्भार तथा क्षति न्यूनीकरणका लागि पालिकाबाट प्रतिबद्धता माग गरिएको डिभिजन प्रमुख गुरागाईंले जानकारी दिए। उनका अनुसार नुवाकोटको दुर्गम भूगोलसहित दुई हजार ३०० मिटर उचाइमा रहेको यस क्षेत्रमा कृषि–पर्यटनलाई समेत लक्षित गर्दै योजना तथा कार्यक्रम सञ्चालनमा डिभिजन कार्यालयले उच्च प्रथामिकता दिएको छ।
यसैगरी, किस्पाङ गाउँपालिकाको साल्मे र भाल्चे खोलाको सीमा हुँदै बगेको खोलाको पानीलाई सदुपयोग गरेर किस्पाङ–४ को साल्मेतर्फ रु. एक करोड ६० लाख बजेट उपलब्ध गराई ‘ग्यान्सिने–पौलिङ–जोङ्गमा सिँचाइ कुलो’ निर्माण गर्न लागिएको छ। उक्त योजनाका लागि प्राप्त भएको बजेटअन्तर्गत निर्माण व्यवसायी जलुकेनी–बागेश्वरी जेभीमार्फत काम अघि बढाइएको छ।