काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहले जनताको मन जितेर काम गर्नुपर्ने बताएका छन्।
सुन्दरहरैचा नगरपालिका–८ सलकपुरस्थित प्रशासनिक कार्यालय भवनको आज शिलान्यास गर्दै उनले भने, “सङ्घीयताको जग स्थानीय तह भएकाले जनताको आकाङ्क्षाअनुसार जनप्रतिनिधिले काम गर्नुपर्छ।” प्रधानमन्त्री देउवाले उद्योग, पर्यटन र कृषि क्षेत्रको विकासका लागि प्रशस्त सम्भावना बोकेको यो नगरपालिकाले यहाँको समृद्धिका लागि महत्वपूर्ण काम गरोस् भनी शुभकामना व्यक्त गर्दै व्यवस्थित सहरीकरण आजको आवश्यकता हो, यसतर्फ सबैको ध्यान जानुपर्दछ भने।
उनले निर्माण हुन लागेको भौतिक संरचनालाई पूर्णता दिन सङ्घीय सरकारले थप बजेट व्यवस्थापन गर्ने बताउँदै यहाँको पर्यटकीय स्थलको समुचित विकास गर्नुपर्नेमा जोड दिए। प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन स्वच्छ, मर्यादित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउन सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताए। उनले निर्वाचन गराउने काम निर्वाचन आयोगको हो बताउँदै सरकारले निर्वाचनका लागि आयोगलाई सहयोग गर्ने मात्र भएको बताए।
प्रधानमन्त्री देउवाले पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज स्थापना गर्न सरकारले सहयोग गर्ने पनि बताएका छन्।