पहिरोले बगाएका दुवै बसमा थिए ६५ यात्रु 

काठमाडौं । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाएको दुई वटा बसमा ६५ जना यात्रु रहेको प्रारम्भिक अनुमान गरिएको छ । त्रिशूली नदीमा बेपत्ता दुई वटा बसका वेपत्ता यात्रुको खोजीमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित भएका छन् । घटनास्थलमा उद्धारकार्यमा कठिनाइ भएको छ ।

उद्धारकार्यका लागि घटनास्थल जाँदै गरेकाका सशत्र बलको विपद व्यवस्थापन टोली पहिरोले गर्दा बाटैमा फसेका छन् । उनीहरु कुरिनटारस्थित कालीखोलाको पहिरोले घटनास्थल पुग्न कठीन भएको प्रहरीले जनाएको छ ।

बागमती प्रदेशको १५१६ नम्बरको बसमा ४१ र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बसमा २४ जना रहेको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजलले बताए । बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका हुन् ।

यद्यपि बसमा सवार व्यक्तिको संख्या अझ आधिकारिक थाहा नभएको डिएसपी रिजालले जानकारी दिए । उनका अनुसार बसमा सवार यात्रुको अझै उद्धार गर्न समस्या भइरहेको छ । कालिखोलामा पहिरो गएकोले बाटो अवरुद्ध छ । प्रहरीसहितको गोताखोर टोलीले अहिले एकतर्फी बाटो खुलाउने प्रयास गरिरहेको छ । डिएसपी रिजालका अनुसार चाँडै बाटो एकतर्फी सञ्चालन गरेर उद्धार कार्य अघि बढाइने छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×