एमसीसी पास गर्न कांग्रेसले प्रधानन्यायाधीशलाई बलीको बोको बनाउनु गम्भीर भुल भएको कांग्रेस नेताहरुको राय

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी मंगलबारको संसद बैठकमा टेबुल गर्ने कांग्रेस रणनीति अन्तिम समयमा आएर असफल पारिदिए पछि कांग्रेस शीर्ष नेताहरु आक्रोशित बनेका छन्। सत्तारुढ गठबन्धन भित्र नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र- संघिय समाजवादी बीच प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणालाई महाअभियोग र अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधिसभाबाट पारित गर्ने सहमति भएको थियो।

प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणालाई महाअभियोग लगाउने सर्तमा एमसीसी पास गर्न सहमत भएका माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड रातारात ‘यू-टर्न’ भएपछि कांग्रेसको एमसीसी पास गर्ने रणनीति तुहिए पछि प्रचण्डको यो कृत्यलाई कांग्रेसका शीर्ष नेतादेखि सासंदले धोकाको रुपमा लिएका छन्।

नेपाली कांग्रेसका एक सांसदले प्रधानन्यायधीश राणालाई महाअभियोग लगाउने कुरा कांग्रेसको लाइन नभए पनि प्रचण्डले पार्टी भित्रै खेलेर अहिले फसाएको आरोप लगाए। ती सांसदले भने, ‘हामीले प्रधानन्यायधीशलाई महाअभियोगको कल्पना पनि गरेका थिएनौं। हाम्रै पार्टी भित्रका धेरै साथीहरुले पार्टी सभापति भन्दा प्रचण्डको बोली बोल्नु भयो। राणालाई महाअभियोग लगाए एमसीसीमा सहयोग गर्छु भने प्रचण्डले। प्रधानमन्त्रीले पत्याएको कुरा होइन त्यो। अहिले त्यहिँ भयो प्रचण्डले धोका दिए।’

त्यस्तै नेपाली कांग्रेसका एक पूर्वपदाधिकारीले यस्तो अविश्वास र धोकाधाडीक बीच गठबन्धन गर्नुको औचित्य नरहेको बताए। प्रचण्डको लहलहैमा कांग्रेसले प्रधानन्यायाधीश माथि अन्याय गरेको उनले बताए। उनले भने, ‘एमसीसी पास गर्न कांग्रेसले प्रधानन्यायाधीशलाई बलीको बोको बनायो। प्रचण्ड र दुई अनुभवै नभएका महामन्त्रीहरुको लहलहैमा। अहिले प्रचण्ड एमसीसीबाट भागे। कांग्रेसको विश्वसनियता के भयो? सियोर सट नभई यस्तो कदम चाले हामी कमजोर हुन्छौं।’

कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले अमेरिकी सहायता परियोजना (एमसीसी) संसदमा टेबल गर्नुपर्ने बताए। बुधबारको बैठकमा एमसीसी टेबल नभएपछि संवाददाताहरुसँग कुरा गर्दै मन्त्री बडूले विवादबारे बहस गर्न पनि संसदमै लैजानुपर्ने बताए।

‘यो संसदमा टेबल हुनुपर्छ,’ उनले भने, ‘संसद सार्वभौम संस्था हो। बाहिरको बहस टुंग्याउनकालागि पनि सदनमै जानुपर्छ।’ बडूले थप छलफलका लागि शुक्रबारसम्म बैठक स्थगन गरेको र त्यतिबेलासम्म सहमतिको प्रयास गर्ने बताए। ‘छलफलका लागि अरु समय चाहिन्छ भने पछि हामीले थप एक दिनको समय दियौं’, उनले भने, ‘६ गतेको बैठकमा टेबल हुन्छ। यसका लागि हामी प्रयास गर्छौं।’ - साभार

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×