काठमाडौँ - आव २०७८/७९ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत मात्र पुग्ने सरकारले जनाएको छ। आर्थिक वृद्धिको अघिल्लो लक्ष्यमा संशोधन गर्दै अर्थ मन्त्रालयले वृद्धिदर ४.१ प्रतिशतमा मात्र सीमित राखेको हो। यसअघि वैशाखमा केन्द्रीय तथ्याङ्क विभागले आर्थिक वृद्धिदर ५.८४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको थियो तर त्यसमा पनि संशोधन गर्दै वृद्धिदरमा १.७४ प्रतिशतको सङ्कुचन हुने प्रक्षेपण मन्त्रालयले गरेको हो।
गत आर्थिक वर्षको वृद्धिदरमा गरिएको पछिल्लो प्रक्षेपण दोस्रो संशोधन हो। पहिलो पटक सरकारले गत वर्षको बजेटमार्फत ७ प्रतिशतको वृद्धिदर हासिल गर्ने लक्ष्य निर्धारण गरेको थियो। सरकारले पछिल्लो पटक गरेको संशोधन नेपालका दातृ निकायले गरेको प्रक्षेपणकै बराबर रहेको छ। विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष, कृषि विकास बैङ्कजस्ता निकायले गत आर्थिक वर्ष औसतमा ४ प्रतिशतको वृद्धिदर रहने प्रक्षेपण गरेका थिए। गोरखापत्र दैनिकबाट