काठमाडौँ - फिफा विश्वकप कतार २०२२ अन्तरगत आज (शुक्रबार) देखि समूह चरणको दोस्रो राउन्डका खेलहरु सुरु हुनेछ।
दोस्रो राउन्डको पहिलो खेलमा वेल्स र इरानले प्रतिस्पर्धा गर्दा दुवै टोली पहिलो जितको खोजीमा हुनेछ। यि २ टोलीबीचको खेल अहमद विन अली स्टेडियम दिउँसो ३ः४५ बजेपछि हुनेछ।
६४ वर्षपछि पहिलोपटक फिफा विश्वकप खेलिरहेको वेल्स आफ्नो पहिलो खेलमा अमेरिकासँग १-१ गोलको बराबरी खेल्दा इरानले इंग्ल्यान्डसँग ६-२ को हारबाट विश्वकपको शुरुवात गरेको छ। दुवै टोली पहिलो जित निकाल्दै विश्वकपमा समूह चरण पार गर्ने लक्ष्यमा हुनेछ।
अमेरिकाविरुद्ध पेनाल्टीमार्फत बराबरी गोल फर्काएका ग्यारेथ बेल नै इरानविरुद्धको खेलमा मुख्य हतियार हुनेछ। वेल्सको सर्वाधिक गोलकर्ता रहेका उनी विपक्षी टोलीका लागि टाउँको दुखाई हुन सक्छ।
यता, छैटौंपटक फिफा विश्वकपमा प्रतिस्पर्धा गरिरहेको इरान युरोपेली टोलीविरुद्ध पहिलो जितको खोजीमा हुनेछ। इङ्ल्यान्डविरुद्ध १ गोल गरेका मेहदी तारेमी टोलीका लागि प्रमुख खेलाडी हुनेछन्। उनी विश्वकपको एकै खेलमा २ गोल गर्ने पहिलो इरानी खेलाडी हुन्।
विश्वकपमा यि २ टोली पहिलो पटक तथा समग्रममा दोस्रोपटक खेल्न लागेको हो। यसअघि यि २ टोलीले सन् १९७८ मा मैत्रीपुर्ण खेलमा प्रतिस्पर्धा गर्दा वेल्स १-० ले विजयी भएको थियो। वेल्स पछिल्लो १० खेलमा अपराजित छ। जसमा ६ जित र ४ बराबरीको नतिजा रहेको छ। यता, इरानले सन् २००६ को विश्वकपमा सुरुवाती दुवै खेल गुमाएको थियो। इरान सोही विगत दोहोर्याउन चाहदैन।
एहसान हाजासाफी र अलिरेजा जाहानबाख्स इरानबाट विश्वकपका बढी खेल्ने खेलाडी हुन्। उनीहरुले समान ७ खेल खेलेका छन्। इरानले विश्वकपमा १६ खेल खेल्दा २ जित, ४ बराबरी र १० हारको नतिजा निकालेको छ।