दमौली। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसानले वैदेशिक रोजगारीका सिलसिलमा कोही लुटिने र ठगिने अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। प्रथम दमौली पाटन सांस्कृतिक एवं पर्यटन महोत्सवको आज उद्घाटन गर्दै मन्त्री श्रेष्ठले भने, “क्षमताअनुरूप जुनसुकै जिल्लाका नागरिक विदेश जान सक्छन्। विदेश जाने नाउँमा लुटिने र ठगिने कार्यलाई निरुत्साहित गरेछु, उन्मुक्ति दिइने छैन। ठगलाई तह लगाउने प्रतिबद्धता व्यक्त गर्दछु।”
श्रमजीवि र विदेशमा जाने श्रमिकको पक्षमा आफूले वकालत गर्दै आएको बताउँदै उनले नेपालबाट ९७ प्रतिशत युवायुवती बिना सीप वैदेशिक रोजगारीमा जाने गरेकाले त्यसो नगर्न आग्रह गरे। विदेशमा जाने युवाका लागि अहिले सातवटै प्रदेशमा सीपमूलक तालिम केन्द्र खोल्ने तयारी गरिरहेको उनले बताए।
मङ्सिर २४ गतेदेखि पुस ३ गतेसम्म व्यासनगरपालिका–५ बेनीपाटनमा महोत्सव सञ्चालन भइरहेको छ। महोत्सवमा ५० हजार दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको महोत्सवका मूल संयोजक विदेश पवन चुमी थापा मगरले जानकारी दिए। करिब रु ५५ लाखको कारोबार हुने र रु ४८ लाख खर्च कटाएर रु सात लाख मुनाफा गर्ने अपेक्षा गरिएको छ।