काठमाडौँ । खोटाङमा अलैँची उत्पादनमा वृद्धि भएको छ।
आर्थिक वर्ष २०७६÷७७ को तुलनामा गत आर्थिक वर्षमा २४५ मेट्रिक टन अलैँचीको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ। केन्द्रका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ५४२ मेट्रिक टन अलैँची उत्पादन भएकोमा गत आर्थिक वर्षमा ७८७ मेट्रिक टन उत्पादन भएको हो।उत्पादनमा वृद्धि भएपनि यसले उचित मूल्य पाउन सकेको छैन। महत्वपूर्ण नगदेबालीको रुपमा रहेको अलैँची खेतीप्रति उत्साहित किसान उचित मूल्य नपाउँदा भने निराश देखिएका छन्। कुनै समयमा राम्रो मूल्यमा बिक्री हुने गरेको कारण अलैँची खेतीमा हौसिएर जिल्लाका किसानले अलैँची उत्पादन वृद्धि गर्न थाले पनि अहिले भने जस्तो उचित मूल्य पाउन नसक्दा अलैँची उत्पादक किसान निराश बन्न थालेका हुन्।
विगतका वर्षमा रु. तीन हजारदेखि तीन हजार ५०० प्रतिकिलो मूल्यमा बिक्री हुने गरेको अलैँची अहिले रु ८७५ देखि एक हजारसम्म मात्र बिक्री हुने गरेको किसानको भनाइ छ।