आइसिसी पुरुष टी–२० विश्वकप २०२६ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगाउने आधिकारिक जर्सी सार्वजनिक गरिएको छ। सोमबार साँझ काठमाडौंमा आयोजित विशेष कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) ले जर्सी सार्वजनिक गरेको हो।
यस पटकको जर्सी तीन फरक–फरक संस्करण र मूल्यमा उपलब्ध गराइने क्यानले जनाएको छ। खेलाडीहरूले मैदानमै प्रयोग गर्ने उच्च गुणस्तरको जर्सीको मूल्य ३,४९९ रुपैयाँ तोकिएको छ। त्यसैगरी ‘रेप्लिका एडिसन’ जर्सी १,५९९ रुपैयाँ र समर्थकहरूका लागि तयार गरिएको ‘फ्यान जर्सी’ ७९९ रुपैयाँ मा उपलब्ध हुनेछ।
क्यानका अनुसार जर्सी काठमाडौंसहित देशभरका नजिकका भाटभटेनी सुपरस्टोर मार्फत खरिद गर्न सकिनेछ।
आइसिसी टी–२० विश्वकप २०२६ भारत र श्रीलंकामा आयोजना हुँदैछ। प्रतियोगिता फेब्रुअरी ७ देखि मार्च ८, २०२६ सम्म चल्नेछ। दशौं संस्करणको यस विश्वकपमा नेपालसहित २० राष्ट्र सहभागी हुनेछन्।
नेपाल समूह ‘सी’ मा परेको छ, जहाँ इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली रहेका छन्। नेपालले पहिलो खेल फेब्रुअरी ८ (माघ २५) मा इंग्ल्यान्डसँग खेल्नेछ। वेस्ट इन्डिजसँगको खेल फागुन ३ र बंगलादेशसँगको खेल फागुन ५ मा हुनेछ। नेपालका सबै समूह चरणका खेलहरू मुम्बईको वानखेडे रंगशाला मा हुनेछन्।
विश्वकपका खेलहरू भारत र श्रीलंकाका आठ मैदानमा आयोजना हुनेछन्, जसमा नरेन्द्र मोदी स्टेडियम (अहमदाबाद), एमए चिदम्बरम (चेन्नई), अरुण जेटली (दिल्ली), वानखेडे (मुम्बई), इडेन गार्डेन्स (कोलकाता), आर. प्रेमदासा (कोलम्बो), एसएससी क्रिकेट ग्राउन्ड (कोलम्बो) र पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला (क्यान्डी) रहेका छन्।