काठमाडौँ । सिमसार क्षेत्रमा पाइने सारस चराको सङ्ख्या कञ्चनपुरमा विगतको तुलनामा घटदै जान थालेको छ ।
सिमसार क्षेत्र घटदै गएपछि यो चरा घट्न थालेको हो। एकै ठाउँमा बस्न रुचाउने रैथाने प्रजातिको सारस सालैपिच्छे घटनुमा बासस्थान विनाश मुख्य कारण हो । “सिमसार मासेर स्थानीयले खेती गर्न थालेपछि सारस घटन थालेको छ”, नेपाल पक्षी संरक्षण सङ्घका चरा विज्ञ हिरुलाल डगौराले भने, “सिमसार घट्न थालेपछि आहारको कमी भएको छ । सिकार गर्ने र कृषिमा विषादीको अन्धाधुन्ध प्रयोगले यो चरालाई समस्या भएको छ ।”
यसको आहारा माछा, भ्यागुता, सर्प र अन्य कीराको कमीसँगै सारस विगतको तुलनामा आधा घटेको उनको भनाइ छ । भर्खरै सकिएको जलपक्षी गणनामा बेलडाँडी गाउँपालिकाको चवन्नीमा दुई र सोही गाउँपालिकाको अर्को सिमसार क्षेत्रमा आठ सारस देखा परेका छन् । स्थानीयका अनुसार पहिला सारस एकै ठाउँमा १५ देखि २० को सङ्ख्यामा देखिन्थे । अण्डा र मासुलाई यसको सिकार हुन्छ । दुई वर्ष पहिले बेलडाँडी क्षेत्रमै संरक्षणकर्मीले एउटा मरेको र अर्को घाइते फेला पारे । वर्षातमा सारस स्थानीय किसानका खेतबारीमा आउँदा सिकार बढी हुन्छ ।
सारस घटेकाले यसलाई जोगाउन सिमसार क्षेत्र जोगाउन र यसलाई मार्नु हुदैन संरक्षण गर्नुपर्छ भन्ने जागरण पैदा गर्न सचेतनामूलक कार्यक्रम आवश्यक भएको सरोकारवालाको भनाइ छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९ ले सारसलाई संरक्षित पंक्षीको सूचीमा राखेको छ ।