स्वदेशमै राम्रो सुविधा नपाएका खेलाडीले विदेशको यात्रामा पनि पाए सास्ती

काठमाडौँ - नेपाली खेलाडी प्रतियोगिताका लागि विदेश गइरहन्छन्। स्वदेशमै राम्रो सुविधा नपाएको गुनासो गर्ने खेलाडीले विदेश यात्रामा पनि सास्ती भोग्छन्।

सस्तो टिकटका कारण खेलाडीले ट्रान्जिटमा लामो समय बिताउनु पर्छ। त्यो पनि विमानस्थलमा नै। पछिल्लो पटक एएफसी अन्डर सेभेन्टिन छनोट खेल्न गएको युवा टोलीले भियतनाम जाँदा र फर्किँदा मलेसिया विमानस्थलमा ३९ घण्टा चिसो भुइँमा बितायो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार राति १० बजे भियतनामबाट मलेसिया हुँदै स्वदेश फर्किएको युवा टोली निकै थकित देखिन्थे। टोलीले ट्रान्जिटमामात्रै २५ घण्टा बितायो। भियतनाम जाँदा पनि नेपाली टिमले १४ घन्टाको ट्रान्जिट कटाएको थियो।

स्वागतका लागि विमानस्थल पुगेका अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङसँग खेलाडीले गुनासो गरेपछि उनले गल्ती भएको स्वीकार गरे। तर एन्फाले पटकपटक यस्तो गल्ती दोहोर्‍याइरहन्छ। ट्रान्जिट लामो हुन सक्छ। त्यस्तो अवस्थामा खेलाडीलाई होटलको व्यवस्था गरिन्छ। खेलाडीले आरामदायी यात्रा गर्न नपाए प्रदर्शन राम्रो नहुन सक्छ। यसबारे एन्फा पनि जानकार छ।

छनोटअन्तर्गत समूहका ३ वटै खेलमा नेपाल पराजित भयो। जाँदा ट्रान्जिटमै असजिलो तरिकाले लामो समय बिताउँदा अभ्यासका लागि समय नपाएको टिमको गुनासो थियो।

यसअघि गत भदौ अन्तिममा महिला फुटबल टिम ओलम्पिक छनोट खेल्न उज्वेकिस्तान जाँदा टर्कीको स्तानबुल विमानस्थलमा घण्टौं लामो ट्रान्जिटमा अल्झिएको थियो। देशकै प्रतिनिधित्व गर्ने राष्ट्रिय टिमको आवत जावतमा सस्तो टिकट काट्ने गरेको आरोप एन्फामाथि छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×