काठमाडौं — सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै नेपाल नेपाल बार एशोसिएशनले थालेको आन्दोलन तुहिएको छ ।
बार अध्यक्ष चण्डेश्वर श्रेष्ठलगायत वरिष्ठ अधिवक्ताको व्यक्तिगत स्वार्थका लागि गरिएको आन्दोलन तुहिएको हो । बार अध्यक्ष श्रेष्ठ, वरिष्ठ अधिवक्त शम्भु थापा लगायतको व्यक्तिगत स्वार्थका लागि गरिएको आन्दोलनले बारकै अस्तित्व संकटमा पारेको छ ।
उक्त आन्दोलन बारलाई निल्नु न ओकल्नु बनेको छ । हाल बारको नेतृत्वमा करिब २० हजार वकिलहरू छन् । तर, वकिलहरुले बारलाई पत्याउन छोडेका छन् । बारम्बार ताकेता गर्दा पनि बारको आन्दोलनमा २० वकिलको उपस्थिति हुन पनि मुस्किल बन्दै गएको छ ।
नेपाल बार एशोसिएशनको आन्दोलनलाई कानून व्यवसायीहरूले अपनत्व लिन छोडेका छन्, जसका कारण बारकै अस्तित्व संकटमा परेको छ ।
दुई महिनादेखि जारी बारको आन्दोलनमा सबै उही १५—२० जना वकिल जम्मा भएर लाज जोगाउन भन्दै औपचारिकता निभाएर जान्छन् । वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूले समेत आन्दोलनलाई छोडेका छन् । उनीहरु समेत आन्दोलनमा आउँदैनन् । आफ्नो सहयोगीलाई पठाएर औपचारिकता पूरा गर्छन्, वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरू ।
केही व्यक्तिको स्वार्थका लागि आन्दोलनमा सहभागी नहुने भन्दै अधिकांश कानून व्यवसायी काममा फर्किसकेका छन् ।
नागरिकलाई न्याय पाउने अधिकारबाट बञ्चित नगर्न माग गर्दै बारकै विरुद्ध कानून व्यवसायी उत्रिएपछि बार आन्दोलन झन् तहसनहस भएको हो ।
आन्दोलनबाट केही उपलब्धि नभएपछि बारका पदाधिकारीले शिर्ष नेताको घरदैलोमा पुगेर प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन माग गरेका थिए । तर, शिर्ष नेताले पनि वास्ता नगरेपछि बार इतिहासकै संकटमा परेको छ ।