काठमाडाैँ - यो सिजनको युइएफए च्याम्पियन्स लिगको फाइनलमा आज राति स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लिस क्लब लिभरपुलबीच प्रतिस्पर्धा हुँदैछ।
पेरिसमा राति १२ः४५ बजे हुने फाइनलमा लिभरपुल २०१८ मा भोगेको हारको बदला लिने योजनमा मैदान उत्रदा रियल म्याड्रिड कीर्तिमानी उपाधि जित्ने लक्ष्यमा हुनेछ।
सन् २०१८ को च्याम्पियन्स लिगको फाइनलपछि यि दुई टोली दुई पटक भिडिसकेका छन्। जसमा एक खेल रियलले ३–१ ले आफ्नो पक्षमा पार्दा अर्काे खेल गोलरहित बराबरीमा सकिएको थियाे।
च्याम्पियन्स लिगको फाइनल खेल नै लिभरपुलको लागि रियलविरुद्ध बदला लिने मुख्य अवसर हो। यो सिजन चार उपाधि जित्ने लक्ष्यमा रहेको लिभरपुल इंग्लिस प्रिमियर लिगमा एक अंकले म्यानचेस्टर सिटीसँग पछि पर्दा तेस्रो उपाधि जित्नबाट वञ्चित बनेकाे हाे।
अब लिभरपुल रियललाई हराउँदै यो सिजनको तेस्रो उपाधि जित्न चहान्छ। लिभरपुलका लागि यो पछिल्लो ५ सिजनमा तेस्रो च्याम्पियन्स लिग फाइनल हुनेछ। किभमा भएको त्यो फाइनलमा लिभरपुल रियालसँग ३–१ ले पराजित रहेको थियो। त्यसलगत्तैको सिजनमा लिभरपुलले मड्रिडमा टोटेनहमलाई हराएर उपाधि जितेको थियो।
लिभरपुल सातौंपल्ट उपाधि जित्नका लागि बलियो प्रत्याशी रहनेछ। यस्तो गर्न सके लिभरपुलले एसी मिलानको कीर्तिमानसँग बराबरी गर्नेछ। लिभरपुल युरोपेली क्लब फुटबलको सर्वाधिक ठूलो उपाधि बढी जित्ने क्लबकाे सूचीमा दोस्रो स्थानमा उक्लने छ।
यो सूचीमा रियाल एक्लै शीर्षस्थानमा छ। उसले कीर्तिमानी १३ पल्ट उपाधि जितेको छ।
यो सिजन ३१ गोल गरिसकेका लिभरपुलका फरवार्ड मोहम्मद सलाहले यो बदला लिने समय रहेको बताएका छन्। नकआउट चरणमा लिभरपुलले इन्टर मिलान, बेन्फिका र भिल्लारियलको चुनौती पार गरेको थियो भने कार्लो एन्सेलोट्टीको रियलले नकआउट चरणमा पुनरागमन जितको स्वाद चाखेको थियो।
लिग चरणमा नामै नसुनेको सेरिफ टिरासपोलसँग पराजित रियलले त्यसयता भने राम्रो खेलेको छ। रियलले अन्तिम १६ मा पेरिस सेन्ट जर्मेन (पिएसजी), क्वाटरफाइनलमा चेल्सी र सेमिफाइनलमा म्यानचेस्टर सिटीजस्तो बलियो टोलीको चुनौती पन्छाएको थियो। सबै खेलमा करिम बेन्जेमा नै नायक बनेका थिए।
उनले पिएसजीविरुद्ध दोस्रो लेगमा ह्याट्रिक, चेल्सी र म्यानचेस्टर सिटीविरुद्ध दोस्रो लेगमा निर्णायक गोल गरेका थिए। अहिले ३४ वर्षीय फ्रान्सेली खेलाडी बेन्जेमा आफ्नो खेलजीवनकै उत्कृष्ट लयमा छन्। उनले यस सिजन ४४ गोल गरिसकेका छन्। त्यसमा १५ गोल युरोपेली प्रतियोगिताको हो।
पछिल्लो ९ सिजनमा रियल पाँचौं च्याम्पियन्स लिग उपाधिको लक्ष्यमा छ। यो सन् २०१४ मा सुरु भएको थियो। जतिबेला रियलले फाइनलमा छिमेकी एट्लेटिको मड्रिडलाई हराएको थियो। त्यसपछि रियलले लगातार ह्याट्रिक उपाधि जित्न सफल भएको थियो।