काठमाडौं– अहिले रुसले युक्रेनमाथि सैनिक आक्रमण गरिरहेको छ। यससँगै रुसले आन्तरिक रुपमा पनि मिडियामाथिको सेन्सरसिपलाई कठोर पार्दै लगेको छ। रुसी सञ्चारमाध्यममा युक्रेनमा जारी आक्रमणलाई बल पुग्ने र सोही अनुसार जनभावना विकास गर्ने किसिमका सामग्री मात्रै प्रसारण हुने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरू बताउँछन्।
तर, सोमबार भने रुसको सरकारद्वारा सञ्चालित च्यानल १ टेलिभिजनको समाचार कार्यक्रम प्रसारणको बीचमै एकजना महिलाले युद्धविरोधी नारा लेखिएको प्लेकार्ड प्रस्तुत गरेकी छिन्।
प्रस्तोताले समाचार वाचन गरिरहेको समयमा टेलिभिजनकै स्क्रिनमा आउने गरी सोही च्यानलमा कार्यरत सम्पादक मारिना ओभ्स्यान्निकोभाले युद्धविरोधी नारा लेखिएको प्लेकार्ड प्रस्तुत गरेकी हुन्।
उनले लेखेको प्लेकार्डमा ‘युद्ध बन्द गर, प्रोपोगण्डाको विश्वास नगर, उनीहरूले ढाँटिरहेका छन्।’ लेखिएको थियो। समाचार भन्दा भन्दै उनले चिच्याएर ‘युद्ध बन्द गर, युद्ध बन्द गर’ भनेको सुनिएको जनाइएको छ। लगत्तै टेलिभिजनले उक्त समाचार बीचमै काटेर पूर्व रेकर्डेड कार्यक्रम बजाउन थालेको थियो।
उनलाई भने प्रहरीले नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ।