पोखरा - पोखरा महानगरपालिका-१८ को वडाध्यक्षमा ३ मतले चुनाव हारेपछि एमालेका उम्मेदवार पुस्कलबहादुर थापाले मुद्दा दर्ता गरेका छन्।
उनले चुनावमा खसेको मतभन्दा ९ मत कम भएको भन्दै त्यसको खोजी गरिदिन मुद्दा हालेका हुन्। उनले निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, मुख्य निर्वाचन अधिकृत र नव निर्वाचित वडाध्यक्षलाई विपक्षी बनाएर मुद्दा दिएका हुन्।
यो वडामा नेपाली काँग्रेसका शिव तिमिल्सिनाले ३ मत अन्तरले चुनाव जितेका थिए। ५ हजार ८ सय ४३ मतदाता मध्ये यहाँ ४ हजार ३ सय ४८ मत खसेको थियो। गणनाका क्रममा ४ हजार ३ सय ३९ मत मात्र भेटिएको थियो। मतपत्र सर्टिङ गर्ने क्रममा नै ९ मत गायव पारिएको थापाले आरोप लगाएका छन्।
थापाले गणना सकिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा खसेकाे मत त देखाउनु पर्याे नि भन्दै पुन गणनाको माग सहित निवेदन दिएका हुन्।