काठमाडौँ - घरेलु टोली वेस्ट इन्डिज पहिले एकदिवसीय खेलमा बंगलादेशसँग ६ विकेटले पराजित भएको छ। आइतबार राति वर्षाका कारण ४१ ओभरमा झारिएको खेलमा घरेलु टोलीले दिएको १५० रनको लक्ष्य पछ्याएको बंगलादेशले ३१ ओभर ५ बलमा लक्ष्य पूरा गरेको हो।
बंगलादेशका लागि मोहम्मद महमदउल्लाहले अविजित रहँदै सर्वाधिक ४१ रनको योगदान गरे। त्यस्तै नजमुल हुसेन सान्तोले ३७ बनाउँदा कप्तान तमिम ईकवालले ३३ रन जोडेका थिए। बलिङतर्फ वेस्ट इन्डिजका गुडाकिसन मोटी, अकिल हुसेन तथा निकोलस पुरनले समान १/१ विकेट लिएका थिए।
यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४१ ओभरमा ९ विकेट गुमाएर १४९ रन बनाएको थियो। वेस्ट इन्डिजका लागि सामरन ब्रोक्सले ३३ रनको योगदान गरे। त्यस्तै एन्डरसन फिलिप्सले २१ र कप्तान निकोलस पुरनले १८ रन बनाएका थिए। बलिङतर्फ बंगलादेशका लागि शोरिफुल इस्लामले ४ विकेट लिए।
त्यस्तै मेहेदी हसनले ३ तथा मुस्ताफिजुर रहमानले १ विकेट लिएका थिए। जितसँगै बंगलादेशले ३ खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा १-० को अग्रता बनाएको छ।
दुई टोलीबीचको दोस्रो एकदिवसीय खेल जुलाई १३ मा हुनेछ।