विमान दुर्घटना : डिएनए विधिबाट पहिचान गर्न कम्तीमा दुई हप्ता लाग्ने

काठमाडौं । सौर्य एयरलाइन्सको दुर्घटनामा परी निधन भएकाको शवको पोष्टमार्टम जारी छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मृतक १८ जनाको शवको पोष्टमार्टम जारी छ । त्रिवि शिक्षण अस्पतालमा बुधबारदेखि नै पोष्टमार्टम जारी छ ।

सबैको पोष्टमार्टम गरिसकेर परिवार र आफन्तलाई शव जिम्मा लगाइने पोष्टमार्टममा संलग्न चिकित्सकले बताएका छन् ।

अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा गोपालप्रसाद चौधरीले चार वटा शव परीक्षण गरेर शवको पहिचानको काम सुरू गरिएको जानकारी दिए ।

उनका अनुसार एक जनाको शव पत्ता लगाउनका लागि चार घण्टा लाग्नेछ ।

अस्पतालमा जनशक्ति कम भएकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर अस्पताल, धुलिखेल अस्पताल, पोखराबाट समेत चिकित्सक बोलाइएको डा चौधरीले बताए ।

मृतकका आफन्तले उपलब्ध गराएको विवरणअनुसार म्याचिङ गरेर सबै शवको पहिचान ७२ घण्टाभित्र गर्ने उनले बताए ।
“आफन्तजनले दिएको विवरणअनुसार शवलाई म्याच गराएर पहिचान प्रक्रिया पूरा गर्नेछौँ । सकेसम्म आवश्यक काम चाँडो गरेर शव दिने हाम्रो कोशिस छ”, डा चौधरीले भने, “शव धेरै नै जलेको हुनाले पहिचान गर्न समय लाग्नेछ ।”

अस्पतालमा सुरूमा परीक्षण गरिरहेका चार वटा शव सय प्रतिशत जलेको उनको भनाइ छ । शव पहिचानका लागि फिङ्गर प्रिन्ट, दाँतको विवरण, हुलिया र डिएनए परीक्षण विधि अपनाइन्छ । उनले फिङ्गर प्रिन्ट, दाँतको विवरण, हुलिया विधिबाट शव पहिचान नभए अन्तिममा डिएनए विधिबाट शव पहिचान गर्ने बताए । डिएनए विधिबाट शव पहिचान गर्न कम्तीमा दुई हप्ता लाग्ने उनको भनाइ छ ।

शव परीक्षणगरी पहिचान गर्नका लागि २५ जना चिकित्सकसहितको प्राविधिक टोली खटेको छ । बुधबार बिहान काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रममा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको हो ।

जहाजमा सवार १९ जनामध्ये क्याप्टेन मनिषरत्न शाक्य मात्र जीवित छन् । उनको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार जारी छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×