काठमाडौँ - अर्को वर्ष चीनमा हुने एएफसी एसियन कपमा छनोट हुने सम्भावना समाप्त भइसकेको नेपालले आज छनोट प्रतियोगितामा इन्डोनेसियाविरुद्ध प्रतिस्पर्धा गर्दै छ। खेल कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपाली समयानुसार राति १ बजेबाट सुरु हुनेछ। नेपालका लागि यो खेल प्रतिष्ठाको लडाइँ मात्र हुनेछ।
तेस्रो चरणको छनोट प्रतियोगिताको समूह ‘ए’मा नेपाल यसअघि जोर्डन र कुवेतसँग पराजित भएको थियो। उक्त हारसँगै नेपालको अगाडिको यात्रा सकिएको हो। आजको खेल नेपालका लागि सान्त्वना बन्नेछ।
छनोट प्रतियोगिताको ६ समूहबाट विजेता टोली र उपविजेतामध्ये उत्कृष्ट पाँच टोलीले चीनमा हुने प्रतियोगितामा स्थान पक्का गर्नेछन्। दुई खेलबाट अंकविहीन नेपाल समूह ‘ए’को पुछारमा रहेको छ। तीन अंक जोडेको इन्डोनेसिया दोस्रो स्थानमा रहेको छ।
इन्डोनेसिया यसअघि जोर्डनसँग १-० ले पराजित भएको थियो। कुवेतलाई २-१ ले हराएको थियो। नेपाल भने जोर्डनसँग २-० र कुवेतसँग ४-१ ले पराजित भएको थियो।