लमजुङ । आइतबार साँझदेखि भारी मात्रामा परेको हिमपातले हिमाली भेगमा चिसो ह्वात्तै बढेको छ । बिहान मौसम सफा भएर घाम लागेको भए पनि बेलुकीबाट मौसममा एक्कासि परिवर्तन हुँदा हिमपात शुरु भएसँगै जनजीवन प्रभावित भएको हो ।
हिमपातपछि हुम्ला जिल्लाको तापक्रम माइनस ११ डिग्री सेल्सियसमा झरेको थियो । जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । हिमपात भएपछि अहिले सिमकोटमा बाक्लो हिउँ जमेको छ भने सिमकोटभन्दा उत्तरी क्षेत्रका गाउँमा २ फिटसम्म हिउँ जमेको छ । हिमपातले जिल्ला सदरमुकाम सिमकोटदेखि उत्तरी क्षेत्रमा तापक्रम माइनसमा झरेको छ । हिमपात भएसँगै जिल्लाको उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का, बरगाउँ, सिमकोटलगायतका गाउँमा चिसो अत्यधिक बढेको छ ।
लगातारको हिमपातले उत्तरी छिमेकी देश चीनसँग सीमा जोडिएको नाम्खा गाउँपालिकाको लिमी र मुचुका बासिन्दालाई घरबाट बाहिर निस्कनसमेत समस्या परेको नाम्खा गाउँपालिका वडाध्यक्ष पाल्जोर तामाङ बताए । उनका अनुसार मुचुमा अहिलेसम्म झण्डै दुई फिट जति हिउँ जमेकाले घरबाट बाहिर निस्किन समेत समस्या भएको हो ।
हिउँले लिमिकोे तापक्रम माइनस १३ पुगेको तामाङको कथन छ । हिउँसँगैको हावाहुरी चलेकाले घरबाट बाहिर निस्कन नपाएपछि जनजीवन प्रभावित भएको छ । बस्तुभाउलाई समेत घरमै घाँस हालेर राखिएको उनको कथन छ ।