सावित्राको पाँच गोलमा केरेलामाथि गोकुलमको गोल वर्षा

काठमाडौँ - नेपाली महिला राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले भारतको केरेला महिला लिग फुटबल प्रतियोगितामा केरला युनाइटेड एएफसीविरुद्ध पाँच गोल गरेकी छिन्।

सावित्राकै उत्कृष्ट प्रदर्शनको मद्दतमा गोकुलमले मंगलबार करेला युनाइटेडलाई ११-० ले हराएको छ। खेलमा सावित्राले २ गोलका लागि असिस्ट गरेकी थिइन्।

उत्कृष्ट फर्ममा देखिएकी सावित्राले पहिलो हाफमा ४ र दोस्रो हाफमा १ गोल गरेकी थिइन्। उनले खेलको २७औँ मिनेटमै आफ्नो ह्याट्रिक पूरा गरिन्। गोकुलमले मध्यान्तरअघि ६-० को अग्रता लिएको थियो।

खेलको तेस्रो मिनेटमा सावित्राले पहिलो व्यक्तिगत गोल गरेकी थिइन्। उनले छैटौँ मिनेटमा दोस्रो गोल गर्न सफल भइन्। उनले खेलको ३५औँ मिनेटमा व्यक्तिगत चौथो गोल गर्न सफल भएकी थिइन्। ५६औँ मिनेटमा उनले व्यक्तिगत पाँचौँ गोल थपिन्।

गोकुलम महिला आई लिग च्याम्पियन पनि हो। २ वर्षअघि गोकुलमबाट खेल्दै सावित्राले टोलीलाई आई लिग च्याम्पियन बनाएकी थिइन्। २ वर्षअघिको संस्करणमा उनले १६ गोल गरेकी थिइन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×