काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टोलीमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र खेलाडीबीचको मनमुटाव छरपस्ट भएको छ। नियमित कप्तान किरण चेम्जोङको अनुपस्थितिमा टिमको कप्तानी गरिरहेका रोहित चन्दले पोषणयुक्त खाना र बसोबासलगायत टिम ब्यवस्थापनबारेको विषय उठाएपछि विवाद सुरु भएको जनाइएको छ।
विवाद अघि बढ्दा टोलीका १० जना सिनियर खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिएका छन्। असन्तुष्ट सिनियर खेलाडीहरु यसबारे खुल्न चाहिरहेका छैनन्। माल्दिभ्समा लिग खेलिरहेका कप्तान किरण चेम्जोङले भने यस विषयमा आफ्नो प्रतिक्रिया दिएका छन्।
गएराति सामाजिक सञ्जाल फेसबुकमा चेम्जोङले आफू खेलाडीकै साथमा रहेको प्रतिक्रिया दिएका छन्।
'राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति मेरो असन्तुष्टि छ। राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु पक्कै सही होइन,' उनले भनेका छन्, 'टोलीको कप्तान र एक सदस्यको हिसाबले म सधैं खेलाडीको पक्षमा छु।'