हुम्लाका लामा समुदायले मनाए ल्होसार पर्व

काठमाडौँ । हुम्लाका लामा समुदायले ल्होसार पर्व बिबिध कार्यक्रम आयोजना गरी मनाएका छन् ।

सोमबारबाट सुरु भएको तोतङ्री ल्होसार उनीहरूले सामूहिक रूपमा मनाएका हुन्। लामा समुदायको नयाँ वर्ष अर्थात् तोतङ्री ल्होसार २१४९ ताक ल्हो बाघ वर्ष सुरु भएको छ। हुम्लाको सिमकोट गाउँपालिका–३ र ४ मा बसोबास गर्दै आएका लामा समुदायले एकापासमा रमाइलो गरेर ल्होसार पर्व सम्पन्न गरेका हुन्। सदरमुकाम सिमकोटमा बसोबास गरिरहेकाले ती समुदायले सामूहिकरूपमा ल्होसार मनाएको लामा सांस्कृति मञ्चका सचिव छवाङ लामाले जानकारी दिए।

उनले बुधबार बिहान पूजापाठपछि लिङ्गो ठड्याएर पर्व सम्पन्न भएको  बताए। बौद्ध धर्मअनुसार यस अवसरमा पूजापाठ गर्दा सिङ्गो वर्षभरि नै सबैलाई राम्रो हुने उनीहरूको धार्मिक मान्यता छ। बालकदेखि वृद्धासम्म नयाँ पोशाकका साथ ल्होसार मनाउन उपस्थित भएका थिए। मुख्य ल्होसार सोमबार भए पनि हुम्लावासीले भने तीन दिनसम्म मनाउने गर्दछन्। हुम्लाको माथिल्लो भेगमा बौद्ध धर्म मान्ने लामा समुदायको बसोबास छ। सिमकोट गाउँपालिकाको वडा नं ३ र ४ तथा नाम्खा गाउँपालिका–१ देखि ६ सम्म ती समुदायको बसोबास छ।

पर्वका अवसरमा उनीहरूका बीचमा एकापसमा मिलीजुली मीठो–मसिनो परिकार सामूहिक रूपमा बाँडेर खाने चलन छ। अन्तिम दिन बुधबार उनीहरूले पुरानो पहिरन पुरुषले बोक्खु लगाउँछन् भने महिलाले ठाइकोर, मुगा, मत्तिउको मालाका साथै पुरानो कपडामा सजिएर रमाउने गरेका छन्। उनीहरूले ल्होसारलाई विषेश महत्वका साथ मनाउने गर्दछन्। ती समुदायले हरेक वर्षको पुस शुक्ल प्रतिपदाको दिन ल्होसार पर्व मनाउने गर्दछन्। तोतङ्री ल्होसार नै अन्य ल्होसारको उद्गम मानिन्छ। तोतङ्री ल्होसारको आफ्नै दर्शन र महत्व छ।

गत वर्ष कोरोना सङ्क्रमणका कारण उनीहरुले ल्होसार पर्वलाई एकापासमा जम्मा भएर मनाउन नपाए पनि यस वर्ष सबै जम्मा भएर मनाएका हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×