काठमाडौँ - सर्वोच्च अदालतले बर्खास्तीमा परेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का तत्कालिन सदस्य सचिव रमेशकुमार सिलवालको रिट खारेज गरेको छ। न्यायाधिशद्वय कुमार रेग्मी र अनिलकुमार सिन्हाको इजलाशले उक्त रिट खारेज गरेको हो।
कार्यसम्पादन गर्न नसकेको भन्दै मन्त्रिपरिषद्को बैठकले सिलवाललाई गत कात्तिक १ गते सदस्य सचिवबाट बर्खास्त गरेको थियो। मङ्सिर १३ गते सरकारले टङ्कलाल घिसिङलाई नयाँ सदस्य सचिव नियुक्त गरेको थियो।
सिलवालले मन्त्रिपरिषद्को निर्णयविरुद्ध कात्तिक २८ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। लगत्तै सर्वोच्चले सिलवालले दायर गरेको रिटमा पछिल्लो नियुक्ति कार्यान्वयन नगर्नु भन्दै अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो। सिलवाललाई २०७६ असारमा केपी शर्मा ओली नेतृत्वको सरकारले सदस्य सचिवमा नियुक्त गरेको थियो। रिट खारेजपछि यसअघि जारी अल्पकालिन आदेश स्वतः बदर हुने भएकाले सरकारले पछि नियुक्त गरेका घिसिङलाई सदस्य सचिवको रुपमा काम गर्न बाटो खुलेको छ।