काठमाडौँ - स्पिन इभेन्ट्स प्रालिको आयोजनामा हुने पूर्ण शंकर श्रेष्ठ देशव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिताको दोस्रो संस्करण भदौको तेस्रो साता हुने भएको छ। अखिल नेपाल टेबल टेनिस संघको वार्षिक कार्यक्रममा सम्मिलित प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भाद्र २१ देखि २५ सम्म आयोजना हुनेछ।
प्रतियोगितामा नेपालभरिका वडाका खेलाडीहरूले सहभागिता जनाउनेछन्। प्रतियोगितामा पुरुष टिम, महिला टिम, पुरुष एकल, महिला एकल, पुरुष भेट्रान एकल (४० वर्षमाथि), पुरुष भेट्रान एकल (५० वर्षमाथि) र पुरुष भेट्रान्स एकल (६० वर्षमाथि) गरी सात स्पर्धामा प्रतियोगिता सञ्चालन गरिने स्पिन इभेन्ट्स प्रालिका अध्यक्ष सुमन शाक्यले बताएका छन्।
१५ लाख रुपैयाँ अनुमानित लागत रहेको यस प्रतियोगितालाई समाजसेवी पूर्णशंकर श्रेष्ठले हरेक वर्ष मुख्य प्रायोजन गर्ने जनाइएको छ। मुख्य प्रायोजनका लागि श्रेष्ठले यस वर्ष ७ लाख ५० हजार रुपैयाँ स्पिन इभेन्ट्स प्रा.लि.लाई बुझाउने छन्। स्पिन इभेन्ट्स प्रालि र मुख्य प्रायोजक पूर्णशंकर श्रेष्ठबीच बिहीबार नै मुख्य प्रायोजन सम्झैता भइसकेको छ। सम्झौता पत्रमा पूर्णशंकर श्रेष्ठ र स्पिन इभेन्ट्स प्रालिका तर्फबाट सुमन शाक्यले हस्ताक्षर गरेका छन्।
मुख्य प्रायोजक श्रेष्ठले टेबल टेनिस खेलको विकासका लागि प्रायोजन गरिएको बताएका छन्। उनले यस्तो प्रतियोगिताबाट खेलाडी उत्पादनमा सहयोग पुग्ने अपेक्षा राखेको बताए। प्रतियोगितामा शीर्ष १६ वरीयताप्राप्त खेलाडीले प्रतिस्पर्धा गर्न पाउने छैनन्। प्रतियोगितामा महिला र पुरुष एकल स्पर्धामा प्रथम, द्वितीय र तृतीय ९ सेमिफाइनल खेल्ने दुवै हुनेले क्रमशः ३० हजार, १५ हजार र समान सात हजार ५०० रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
यसैगरी, भेट्रान्स एकल स्पर्धातर्फ प्रथम, द्वितीय र तृतीय (सेमिफाइनल खेल्ने दुवै) हुनेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५०० रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। यस प्रतियोगितामा पदक तालिकाअनुसार शीर्ष स्थान हासिल गर्न सफल वडालाई नगद ५० हजार रुपैयाँ रुपैयाँका साथै रनिङ शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ।