काठमाडौँ - ओपनर केभिन ओ ब्रायनको सानदार शतकमा गुजरात जायन्ट्सले लेजेन्ड्स लिग क्रिकेटको उद्धघाटन खेलमा इन्डिया क्यापिटल्समाथि ३ विकेटको विजयी हात पारेको छ।
जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको गुजरात जायन्ट्स ६१ बलमा १५ चौका र ३ छक्कासहित १ सय ६ रनको शतकीय इनिङ खेलेका थिए। कप्तान विरेन्द्र सहभाग ६, पार्थिव पटेल २४ र यशपाल सिंह २१ रनमा आउट भएका थिए।
इन्डियन क्यापिटल्सका प्रविन ताम्बेले ३.४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिएका थिए। लियाम प्लेंकेटले २, अशले नर्स र मिचेल जोनसनले १/१ विकेट लिएका थिए।
त्यसअघि कोलकातामा इडेन गार्डेनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इन्डियन क्यापिटल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७९ रन बनाएको थियो। इन्डियन क्यापिटल्सको लागि एशले नर्सले ४३ बलमा ८ चौका र ९ छक्कासहित सर्वाधिक १ सय ३ रनको उत्कृष्ट शतकीय इनिङ खेलेपनि टोलीलाई जिताउन सकेनन्।
नर्स खेलको प्लेयर अफ द म्याच चुनिए। दीनेश रामदिन २६ बलमा ३ चौका र १ छक्कासहित ३१ रनमा आउट भएका थिए। अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्। गुजरातका लागि थिसेरा परेरा, रायद इम्रित र केपी अप्पनाले २/२ विकेट लिएका थिए।
प्रतियोगितामा गुजरात जायन्ट्स, इन्डियन क्यापिटल्स, मनिपाल टाइगर्स र भिलवारा किंग्स गरि ४ टोली रहेका छन्। यस प्रतियोगिता नेपालका पूर्व कप्तान पारस खड्काले खेल्ने भनेपनि अन्तिम समयमा नखेल्ने जनाएका छन्।