काठमाडौँ - कतारमा २२ औँ संस्करणको फिफा विश्वकप आउन अब ४ महिनाभन्दा केही बढी समयमात्र बाँकी छ। यस्तोमा फुटबल पण्डित, विश्वभरका समर्थत तथा खेलाडीहरू विश्वकप विजेताबारे आ-आफ्नो अनुमान गरिहेका छन्।
यसैबीच, सन् २०१४ मा जर्मनीबाट विश्वकप जितेका थोमस मुलरले पनि विश्वकपका दाबेदारबारे बोलेका छन्। सो क्रममा मुलरले आफ्नो देश जर्मनी पनि विश्वकपको एउटा प्रमुख दाबेदार भएको दाबी गरेका छन्।
एउटा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग कुरा गर्दै उनले विश्वकपको उपाधि फेरि घर फर्काउने समय आएको बताएका छन्। रुसमा भएको अघिल्लो विश्वकपमा पाएको खराब नतिजालाई भुल्दै यो पटक जर्मनीले बलियो दाबेदारी पेश गर्ने उनले स्पष्ट पारेका छन्।
'विश्वकपको उपाधि घर (जर्मनी) फर्काउने उचित समय आएको छ। हामीलाई थाहा छ यो पटक हामी स्पेनजस्तो बलियो टोली रहेको कठिन समूहमा छौं। हामी कठिन समूहमा परे पनि नकआउट चरणमा जानेमा कुनै चिन्ता छैन। हामी बलियो स्पेनसँगै जापान र कोस्टारिकालाई पार गरेर सजिलै दोस्रो चरणमा पुग्नेमा विश्वस्त छौं,' उनले भने।
जर्मनीको तर्फबाट चौथो विश्वकप खेल्ने तयारीमा रहेका मुलरले विश्वकप जित्नसक्ने ८ देशको नाम दिएका छन्। जसमा लियोनल मेसीको नेतृत्वमा रहेको अर्जेन्टिना र क्रिस्टियानो रोनाल्डोको पोर्चुगलसमेत रहेको छ।
दाबेदारमा उनले जर्मनीसँगै फ्रान्स, बेल्जियम, ब्राजिल, अर्जेन्टिना, पोर्चुगल, स्पेन र नेदरल्याण्ड्सको नाम लिएका छन्। तर उनले अधिकांश इंग्लिस पण्डितहरूले तेस्रो दाबेदार दाबी गरिरहेको इंग्ल्याडको नाम भने लिएका छैनन्। फुटबलमा इंग्ल्याण्ड जर्मनीको मुख्य प्रतिद्धन्द्धी देश मानिन्छ।
मुलरले ८ देशमध्ये पनि ३ वटा प्रमुख दाबेदार रहेको बताएका छन् । तर, ती देश कुन हुन् भन्ने चाहिँ खुलाएका छैनन्।