चितवन - विभिन्न लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। भरतपुरबाट उनीहरूलाई भारतीय कारसहित पक्राउ गरिएको हो। पक्राउ पर्नेमा भारतको बिहारका ३८ वर्षीय सुनिल कुमार, १९ वर्षीय विकास कुमार, ५० वर्षीय राजन ठाकुर र बाराको गढीमाई नगरपालिका–१९ का ३५ वर्षीया प्रतिमा मण्डल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार उनीहरूलाई शुक्रबार भरतपुर बसपार्क चोकबाट पक्राउ गरिएको हो। पक्राउ परेका उनीहरुको साथबाट एक हजार एम्पुल डाइजेपाम, एक हजार एम्पुल व्युप्रिनर्फिन, फेनारगन एक हजार एम्पुल र एक सय ४० मिलीग्राम खैरो हेरोइन फेला परेको उनले जानकारी दिए।
मोबाइल चार थान, डिएल सात सिएम १५७६ नंको भारतीय कारसमेत बरामद गरिएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।