पाल्पा - पाल्पाको रिब्दीकोट गाउँपालिका–७ पालुङ्गमा एक घर एक धारा जडान गरिएको छ। घरघरमा खानेपानीका धारा जडान गरिएपछि पानीकै लागि कुवा धाउनुपर्ने बाध्यता टरेको हो।
पानीको अभावका कारण घण्टौँ समय खर्चिनुपर्ने अवस्थामा घरघरमा खानेपानीको धारा जडान भएपछि स्थानीयवासी उत्साहित भएका छन्। करिब रु १० लाख ७१ हजार ७२६ बजेटबाट खानेपानी योजना पूरा गरी ४२ घरमा खानेपानीको धारा जडान गरिएको हो।
गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले एक घर एक धारा जडान कार्यक्रमको उद्घाटन गर्दै नागरिकका आधारभूत समस्या समाधानमा गाउँपालिका लागि परेको बताए। गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालले नागरिकलाई एक घर एक धारा अभियानअन्तर्गत खानेपानी योजना सम्पन्न भएपछि स्थानीयवासी उत्साहित भएको बताइन्। उनले खानेपानीको सुविधा सम्पन्न भएपछि सबैभन्दा बढी फाइदा महिला तथा बालबालिकालाई भएको बताइन्।