काठमाडौँ - भर्खर घरबास (होमस्टे) के खुलेका थिए, कोभिड–१९ निम्तिहाल्यो। पर्यटकलाई मन फुकाएर सत्कार गर्न नपाउँदै घरबास बन्द हुने स्थितिमा पुगे। कतिले सेवा नै रोके। कुनैले फाट्टफुट्ट मात्र पाहुना राखे।
महामारी सुरु भएयताका दुई वर्ष घरबास व्यवसायका लागि अप्रिय रहे। ग्रामीण पर्यटनलाई टेवा दिन खुलेका घरबास पूर्णरुपमा चलायमान हुन नपाउँदै थलिन पुगे। लगानी निरर्थक हुने चिन्ताले सञ्चालकलाई पिरोल्यो। राज्यले दिएको अनुदान पनि खेर जाने स्थिति बन्यो। महामारी लम्बिँदै जाँदा घरबासको भविष्यलाई लिएर निरास बनेका पर्यटन व्यवसायी अब भने केही आशावादी देखिएका छन्।
कोभिड–१९ को सङ्क्रमण मत्थर हुँदै गएको छ। जनजीवन सामान्य छ। पर्यटन गतिविधि बढ्न थालेका छन्। जसको सकारात्मक प्रभाव घरबास व्यवसायमा पनि देखिने पक्का छ। गलकोट नगरपालिका–१० पाण्डवखानीस्थित ‘सिद्धथान सामुदायिक घरबास’का सञ्चालक छमबहादुर काउचाले आफूहरु पाहुनाको सेवामा आतुर रहेको बताए।
“कोरोनाका कारण यसअघि सोचे जस्तो गर्न सकिएन, अब अवस्था सामान्य बनेकाले पर्यटक आउँछन् भन्ने आशा छ”, उनले भने। सो घरबास सञ्चालनमा आएकै वर्ष महामारी सुरु भएपछि व्यवसायी मारमा परेका थिए। झण्डै दुई वर्षसम्म व्यवसाय शिथिल बन्न पुग्यो।सिद्धथानका सात घरमा घरबास सेवा छ। एकैपटकमा ४० जनासम्म पाहुना राख्नसक्ने तिनको क्षमता छ। पारिवारिक वातावरण, खानामा स्थानीय परिकार, मौलिक संस्कृति, रहनसहन र पर्यटकीय गन्तव्यस्थलसम्मको पदयात्रा त्यहाँको आकर्षण हो।
“भान्छामा ढिँडो, आटोलगायत गाउँकै उत्पादन पाक्छ, पर्यटक लोभ्याउन सालैजो, झ्याउरे जस्ता संस्कृति पनि देखाउँछौँ”, सञ्चालक काउचाले भने। मासुजन्य परिकारमा पनि स्थानीय कुखुरा र बोकाको मासु प्रयोग हुन्छ। सिद्धथान पुगेका बेला पर्यटकले घुम्टेको लेक, पञ्चधारा, काभ्रे गाउँ आदि घुमफिर गर्न सक्छन्। त्यहाँबाट दुई-अढाइ घण्टाको पदयात्रामा घुम्टे उक्लन सकिन्छ। घुम्टे गण्डकी प्रदेशका १०० गन्तव्यमध्येमा सूचिकृत पर्यटकीयस्थल हो।
पर्यटकले इच्छ्याएमा पाण्डवखानीको प्रख्यात सती घाटु पनि देखाउन सकिने घरबास सञ्चालक बताउँछन्। घरबासको पूर्वाधार बनाउँदा गण्डकी प्रदेशको पर्यटन मन्त्रालयले रु. १० लाख अनुदानसमेत दिएको थियो। सदरमुकाम बागलुङ बजारदेखि ६० किमी मोटर यात्रामा सिद्धथान घरबास पुग्न सकिन्छ। गलकोटकै तोरीखोला सामुदायिक घरबास पनि पर्यटकको पखाईमा छ। वडा नं २ नरेठाँटीस्थित उक्त घरबास पनि महामारीका बेला सुनसान बनेको छ।
कोरोनाको चपेटामा परी सुनसान भएका बागलुङका धेरै घरबास यतिबेला पर्यटकको पर्खाइमा छन्।